• ११ मंसिर २०८१, मङ्गलबार

सुदूरपश्चिमका शक्तिपीठ : विविध विशेषता

blog

गोकर्ण दयाल 

बैतडी, कात्तिक ४ गते  । सुदूरपश्चिम प्रदेशका १६ भगवती बहिनी (षोड्समातृका) मा पौराणिक रूपमा रहेका सप्तमातृकालाई सात बहिनी र नवदुर्गा भगवतीलाई नौ बहिनीका रूपमा पुज्ने परम्परा छ ।  भगवतीको पूजा हुने स्थानमा भूमिराज (भुमे देवता) को पनि अनिवार्य पूजा गरिन्छ । भूमिराजलाई भगवतीको भाइका रूपमा मान्ने परम्परा रहेकाले कतै मस्टो देवतालाई पनि भगवतीको भाइका रूपमा पूजा गर्ने चलन छ । मस्टो (भूमि देवता) अछाम, बझाङ, बाजुरामा पनि पुज्ने चलन छ । 

त्रिपुरासुन्दरी (रणसैनी) भगवती 

बैतडी सदरमुकाम गोठालापानी नजिकै रहेको त्रिपुरासुन्दरी बैतडीको प्रसिद्ध धार्मिक स्थल हो । बैतडी सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिम गोठालापानी–झुलाघाट सडकखण्डमा रहेको यो मन्दिरलाई रणसैनी भगवतीको नामले समेत चिनिन्छ । अन्न भर्ने एक रण्या जौं (४० माना) मा प्राप्त भएकी हुनाले रणसैनी नाम रहेको किंवदन्ती छ । यो मन्दिरमा प्रत्येक औँसी, पूर्णिमा, सङ्व्रmान्ति एवं चार वटा नवरात्रिमा विशेष मेला लाग्ने पुजारी पण्डित विष्णुदत्त लेखक बताउनुहुन्छ । दसैँका बेला यहाँ राँगा र बोकाको बलिसहित ठुलो मेला लाग्छ । मेलामा बैतडीसँगै भारतको उत्तराखण्ड राज्यका कुमाउ–गढवालका १३ जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजन आउने गरेका छन् । 

पुरातात्त्विक महत्वको डिलासैनी 

पुर्चौडी नगरपालिका–१०, तल्लादेही र मल्लादेहीमा रहेको डिलासैनी भगवती मन्दिरलाई यहाँको प्रसिद्ध मन्दिर मानिन्छ । डिलासैनी भगवती स्थानीय बोहरा जातिले प्राप्त गरेको लोकोक्ति छ । यो मन्दिर साके संवत् १२०३ मा बनेको शिलालेख छ । पुराताŒिवक दृष्टिले डिलासैनी रहेका देवलहरूको विशेष महत्व छ । यी देवलहरू पाण्डव, आद्य शङ्कराचार्य र तत्कालीन समयका राजारजौटाले निर्माण गरेको किंवदन्ती र इतिहास पाइन्छ । यस प्रकारका देवलहरू कुमाउदेखि कर्णालीसम्म पाइन्छन् । यी देवल कुनै प्रकारको काठ, फलाम, बालुवा गिट्टी प्रयोग नगरी विशेष प्रकारको ढुङ्गा काटेर (कटुवा ढुङ्गा) निर्माण गरिएका छन् । 

निङ्लासैनीमा लावड जातिको राँगा पहिलो 

त्यस्तै दशरथचन्द नगरपालिका–२, देहीमाण्डौमा निङ्लासैनी भगवती अवस्थित छ । किंवदन्ती अनुसार स्थानीय दलित समुदायका लावड जातिले निगालोका झाङमा भगवती पाएकाले निङ्लासैनी नाम रहेको किंवदन्ती छ । यही कारण अष्टमीका दिन बलि दिने राँगामध्ये सबैभन्दा पहिले लावड जातिको राँगा बाँध्ने चलन कायम छ । यो मन्दिरमा वर्ष दिनमा ८४ दिन विशेष पूजा लाग्ने गरेको छ । मन्दिरमा बैतडीलगायत दार्चुला, डडेलधुरा, बझाङ, भारतको पिथौरागढलगायतका क्षेत्रबाट दर्शनार्थी आउने गर्छन् । 

मेलौलीमा काम्छन् सयौँ धामी 

त्यस्तै मेलौली भगवतीको मन्दिर पनि उत्तिकै प्रसिद्ध मानिन्छ । पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिकाको मुख्य केन्द्रमा रहेको मन्दिरसम्म पुग्न सहज भएपछि भक्तजनलाई सजिलो भएको छ । यहाँ नेजा, ध्वजा, भाना, भोक्कर, झाँजलगायत दाइन–दमाहाको बाजागाजासहित श्वेत फेटा र बागो लगाई सुनचाँदीको गहनामा सुशोभित हातमा चमर लिएर मेलौली र उदयदेवका धामीहरूले सयौँ व्यक्तिले बोक्ने चक्डोलमा सवार भई पूर्णिमाको बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म काम्ने गर्छन् । 

कफलासैनी सुर्नया तरे हुँदैन बलि

कफलासैनी भगवतीको मन्दिर बैतडीको सुर्नया गाउँपालिका–५, रौलेश्वरमा छ । यी भवानीलाई माडौँ पनि भनिन्छ । सुर्नया नदीको किनारमा रहेको मन्दिरमा बलि दिन ल्याइएका राँगा भागेर सुर्नयापारि गयो भने समातेर पुनः बलि दिन उपयुक्त मानिँदैन । सुर्नयापारि बैतडीको प्रसिद्ध सिगासधाम भएकाले नदीपारि पुगेको राँगालाई ल्याएर पुनः बलि दिन हुन्न भन्ने धार्मिक मान्यता छ । 

कपडाको पोकोमा प्राप्त पोटलासैनी 

पोटलासैनी भगवती विशेष प्रकारको कपडाको पोकोभित्र प्राप्त भएकाले पोटलासैनी नाम रहन गएको मानिन्छ । पोटलासैनी भगवतीलाई पञ्चेश्वर गाउँपालिकास्थित रोडी गाउँका भण्डारी जातिले कुलदेवीका रूपमा पूजा गर्ने गरेका छन् । 

पूजा नहुने भगवती बिजासैनी 

बिजासैनीको कहिल्यै पनि पूजा नहोस् भन्ने श्रापका कारण बिजासैनी भूमिगत भगवतीका रूपमा रहेकी छन् । बिजासैनीको पूजा नहुने भएकाले बैतडीमा कहीँ कतै पनि बिजासैनीको मन्दिर निर्माण भएको छैन । 

नाटेश्वरी र बडीमालिका दिदीबहिनी

कात्तिक अष्टमीका दिनमा बाजुराका विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिन्छ । सबैभन्दा बढी बलि त्रिवेणी नगरपालिका–८ मा रहेको नाटेश्वरी मन्दिरमा चढाइन्छ । नाटेश्वरी मन्दिरमा कात्तिक अष्टमीमा हजारौँ बोकाको बलि दिइने गरेको यहाँका पुजारी प्रभतबहादुर शाहीले बताउनुभयो ।

बाजुराको बडीमालिका देवी र नाटेश्वरीमाई दुई बहिनी मानिन्छ । बडीमालिकामा जनैपूर्णिमाका दिन मेला लाग्छ भने नाटेश्वरीमा माघबाहेक प्रत्येक महिना पूजा हुने गरेको पुजारी शाहीले बताउनुभयो । बडीमालिका माईले बलि लिँदिनन् । यहाँ चामल, दुध र नरिवल मात्र चढाइने गरेको शाहीले बताउनुभयो । यस्तै स्वामिकार्तिक बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको कालिका र बुढीगङ्गा नगरपालिका–४ को बार्जुकोटमा अष्टमी, नवमी र दशमीका दिन विशेष पूजा हुने कालिका मन्दिरका पुजारी गोविन्द मल्लले बताउनुभयो ।

राँगा दौडाएर बलि दिने प्रचलन 

अछामको तिमिल्सैनमा रहेको मङ्गलासैनी मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनमा सयौँ राँगाबोकाको बलि दिएर दसैँ मनाइन्छ । आफूले गरेको भाकल पूरा भएपछि मन्दिरमा सङ्कल्पपछि राँगालाई दौडाएर काट्ने प्रचलन छ । 

विसं १९६२ मा स्थापना गरिएको मन्दिरमा पशु बलिसँगै रातमा मेला लाग्छ । यहाँ बलि चढाएमा गाउँमा पशु रोगमुक्त हुने विश्वास गरिँदै आएको स्थानीय जानकार तिलकबहादुर खत्री बताउनुहुन्छ । त्यस्तै मङ्गलसेनको सान्नीकोट र षोड्शा मन्दिर, तिमिल्सैनको सैनगडा, मार्कुको सान्नीकोट, वारलाको तिखापातलमा दसैँका क्रममा पूजाआजासहित बलि दिइने प्रचलन छ । मार्कुको सान्नीकोट, बारलाको तिखापातल, ढकारीको बाँच्कोटमा दसैँका अवसरमा मेला लाग्ने गरेको छ । 

दार्चुलाका शक्तिपीठमा भक्तजनको भिड

दार्चुलाका प्रमुख धार्मिक स्थलहरूमा भक्तजनको भिड बढेको छ । देशकै सात धाममध्येको मालिकार्जुन मन्दिर मड, लटिनाथ मन्दिर जयपुर, हुनैनाथ मन्दिर औतालेक, गलैनाथ मन्दिर बन्तोलीलगायतका पीठमा नवरात्र सुरु भएदेखि नै भक्तजनको भिड बढेको हो । यी मन्दिरमा विशेष पूजापाठसँगै पशु बलि दिने गरिन्छ । शुद्ध मनले देवीदेवताको दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । यी मन्दिरमा भारतको उत्तराखण्डबाट समेत भक्तजन आउने गरेका जयपुर मन्दिरका भण्डारी मनिदत्त विष्टले बताउनुभयो । शक्तिपीठमा पूजाआजासँगै पन्चैबाजा बजाउने, विभिन्न खेल खेल्नेलगायतका गतिविधि निरन्तर भइरहेका छन् । 

(बाजुरा, अछाम (मङ्गलसेन), दार्चुला समाचारदाताको सहयोगमा)