• १५ मंसिर २०८१, शनिबार

दुईसय ३३ मिटर लामो झोलुङ्गे पुल निर्माण

blog

निशा राई 

धरान, कात्तिक ३ गते । धरान उपमहानगरपालिका ५ अंधेरीखोलामा निर्मित आंपटार र ठिंगाबारी जोड्ने दुईसय ३३ मिटर लामो झोलुङ्गे पुलको आज उदघाटन भएको छ । 

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोककुमार राई र धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राईले उदघाटन गर्नुभयो । नेपाल सरकार शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास महाशाखाको १ करोड ८ लाख ४२ हजार ९ सय १५ रुपिँया लागतमा सो झोलुङ्गे पुल निर्माण गरिएको वडा नं ५ का अध्यक्ष मनप्रसाद लिम्बुले बताउनुभयो । 

धरानको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने सो झोलुङ्गे पुलको भार बहन क्षमता एक पटकमा ५ सय ३ जना यात्री रहेको उहाँले बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री राईले दसैँ तिहारको शुभकामना दिँदै धरान ५ मा रहेको स्थानीयवासीलाई आवत–जावतमा सहज हुने बताउनुभयो । 

धरानको विकासका लागि पुलले सहयोग गर्ने उहाँको भनाइ छ । दसैँ मान्ने नमान्ने भनेको लोकतन्त्र भएकाले व्यक्तिगत स्वतन्त्रता भएको चर्चा गर्नुहँदै उहाँले दसैँ मान्नु नामान्नु आफ्नो अधिकार भएको बताउनुभयो । आफुसँग जे छ त्यसैअनुसार चाडपर्व मनाउन उहाँले सुझाव दिनुभयो ।

प्रदेश साँसद रमेशकुमार बस्नेतले यहाँका नागरिकको आर्थिक उपार्जनको रुपमा यो झोलुङ्गे पुलले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । हाम्रो मुलुक बहुजाती, बहुभाषी, बहुधर्म मान्ने राज्य भएकोले हामीले सबै एकअर्काको पर्वहरुमा सहभागी हुनुपर्छ भन्नुभयो ।