• १८ वैशाख २०८१, मङ्गलबार

मातृ शक्तिको महत्त्व नवरात्र

blog

यो वर्षको नवरात्र महापर्व असोज महिनाको २८ गते घटस्थापना गरेर सुरु हुन्छ । यो अवधिमा नारी शक्तिको पूजा गरिन्छ । नारी शक्तिको नौ दिनसम्म पूजा गरेको प्रसाद र आशीर्वाद ग्रहण गर्दै नवरात्र कात्तिक ७ गते विजय दशमीका दिन समापन हुन्छ । 

श्लोकमा नवदुर्गा

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।

नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।

उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना।

नवरात्रका नौ दिनमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो ब्रह्मचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कूष्माण्डा, पाँचौँ स्कन्दमाता, छैटौँ कात्यायनी, सातौँ कालरात्रि, आठौँ महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । नवदुर्गाका विभिन्न अवतार हुन् । नवरात्रमा यी मातृशक्तिको भक्ति र साधना गर्नाले शक्ति प्राप्त हुने विश्वास गरिन्छ । 

हामी यी नौ दिनमध्ये पहिलो दिन दसैँको घटस्थापना हो । सातौँ दिन फूलपाती विशेष ढङ्गले मानिन्छ । महाअष्टमी, महानवमी र त्यसपछि विजयादशमीलाई विशेष रूपमा लिइन्छ ।

नवरात्र र पशुबलि

नवरात्रमा मातृ शक्तिको पूजा हुन्छ । मातृ शक्तिले संसारका हरेक सन्तानलाई उत्तिकै माया गर्छिन् । मातृ शक्तिको धर्म भनेकै सबै सन्तानलाई समान दृष्टिले हेर्नु हो । मातृ शक्तिले कुनै सोझो सन्तानलाई बलि दिनु भनेर हिन्दु धर्मशास्त्रमा कतै भनेको पाइँदैन । यो मासु खाने बानी परेकाहरूले लामो समयदेखि चलाएको गलत अभ्यास र परम्परा हो ।  

मातृ शक्तिको महìव अथवा माहांत्मे नै नवरात्रको विशेषता हो । त्रि–देवीलाई मातृ शक्तिको रूपमा हिन्दु धर्मशास्त्रले व्याख्या गरेको छ । यी त्रि–देवी भनेका महाकाली, महालक्ष्मी र महासरस्वती हुन् । यिनै त्रि–शक्तिका तीन तीन शक्ति भएकै कारण नवरात्रमा नवदुर्गाको पूजा हुन्छ । यिनै मातृ शक्तिले यो विश्वलाई धानेको विश्वास हिन्दु धर्म परम्परामा गरिन्छ । 

महाकालीका काल, कलह, जटिलता तीन शक्ति हुन् । माहालक्ष्मीमा अर्थ, चञ्चलता र रूप माधुर्य शक्ति हुन्छन् । सरस्वतीमा ज्ञान, विज्ञान र विद्या पाइन्छ । त्रि–शक्तिका तीन तीन गरेर जम्मा नौ गुणलाई नवरात्रमा चर्चा गरिन्छ । यी नौ गुण नवरात्रका व्यापकता हुन् । यिनलाई नवधाभक्ति, नवरात्र, पूर्ण अक्षर ब्रह्म पनि भनिन्छ ।

देवी सूक्त

नवरात्रमा पूजा आरधना गरिने नौ देवीलाई एउटै संयुक्त सूक्तले प्रार्थना गरिन्छ । 

यादेवी सर्वभूतेषु मातृरूपेण संस्थिता ।

नमस्तस्यै ।। ७४ नमस्तस्यै ७५ ।। नमस्तस्यै नामो नमः ।। ७६ ।।

(दुर्गासप्तशत्यम्, अध्याय–५, पृ. ११४)

यो सूक्तले सबै प्राणीमा आमाको शक्तिरूप भएको कुरा व्याख्या गर्छ । यो विश्वमा यिनै नारी वा मातृ शक्तिका रूपमा मानिसको जन्मदेखि मृत्युसम्मको यात्रा हुन्छ । यसकै आधारमा नारीको खानपिन, बानी, व्यवहार र चालचलन भएको पाइन्छ । 

घरमा नारी शक्तिको महत्त्व जुन घरमा नारी शक्तिको प्रवेश हुन्छ त्यो घरमा महाकाली, महालक्ष्मी र महासरस्वतीका नौ रूपको प्रवेश भएकै हुन्छ । 

यसले त्यो घरमा त्यहाँ जन्मने सन्तान र भावी पुस्तालाई ठुलो प्रभाव पार्ने विश्वास रहेको छ । 

जब महालक्ष्मीको अंश लिएर नारी शक्ति कुनै घरमा आउँछिन् त्यहाँ धन, मान, रूप, डाल र स्वर माधुर्यको अभिवृद्धि हुन्छ । सरस्वतीको अंश लिएर आएका मातृ शक्तिले परिवारलाई राम्रो बाटोमा अगाडि बढाउँछन् । सरस्वतीले मातृ र पितृ कुलको हितमा काम गरेकी हुन्छिन् । 

सरस्वतीले परिवारमा  ज्ञान, विज्ञान, धर्म, शतमार्ग, बोलीमा मिठास ल्याएकी हुन्छिन् । सरस्वतीको आगमनसँगै परिवारमा त्यसको प्रभाव देखिन्छ । 

त्रि–शक्तिमध्ये महाकालीको फरक क्षमता रहेको हुन्छ । मानिसलाई बाल, यौवन र वृद्ध बनाउने शक्तिसमेत महाकालीकै अंश मानिन्छ । जहाँ जहाँका नारी शक्तिमा कलह, अमर्यादा, अनाचार र अविवेकी अंश भेटिन्छ त्यहाँ महाकालीले समाधान खोजेकी हुन्छिन् । यसरी एकसाथ छोटो रूपमा नवदुर्गाको चर्चा गर्न सकिन्छ ।