• १५ कात्तिक २०८२, शनिबार

खुम्बुमा पाँच हजारभन्दा बढीको बिचल्ली

blog

सन्तोष राउत

सोलुखुम्बु, कात्तिक १५ गते । बेमौसमी हिमपात र वर्षाका कारण हजारौँ पर्यटक खुम्बु क्षेत्रमा अलपत्र परेका छन् । पछिल्ला चार दिनयता लगातार परेको वर्षा र हिमपातका कारण उडान हुन नसक्दा तथा आवतजावतमा समस्या भएपछि खुम्बु क्षेत्रमा मात्र करिब साढे पाँच हजार पर्यटक तथा तिनका सहयोगीको विचल्ली भएको हो ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजको पर्खाइमा रहेका तथा मौसमका कारण रोकिएर करिब छ सयभन्दा बढी पर्यटक अलपत्र परेको लुक्लाका पर्यटन व्यवसायी तोया श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी पुगेको सुर्केमा पनि पर्यटकको चाप धेरै छ । लुक्ला र सुर्केमा बस्नका लागि होटल अभाव भएकाले विदेशी पर्यटकलाई समेत बासको समस्या भएको व्यवसायी श्रेष्ठले बताउनुभयो ।

तेन्जिङ हिलारी विमानस्थलमा पर्यटकहरू मौसम सुधारको पखाइमा बसिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले जानकारी दिनुभयो । दृश्यापन (भिजिबिलिटी) कम भएकाले जहाजको उडान ठप्प छ भने हेलिकोप्टरले लुक्ला फाप्लु उडान गरिरहेको छ । उहाँका अनुसार रामेछापबाट लुक्ला आउनका लागि पर्यटक उडानको पखाइमा छन् । रामेछाप–लुक्लाका लागि तारा, सीता र समिट एयरका दैनिक ३० वटा नियमित तथा ‘नन्सेडुल’ उडान गर्दै आएका थिए । 

आधार शिविर क्षेत्रमा मात्र एक हजार ४९० पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गोरक्क्षेपमा २२० जना, लोबुचेमा २३५ जना, दिङबुचेमा एक हजार जना, थुक्लामा ३५ जना रहेका छन् । पर्यटकको सामान्य आवतजावत भने भइरहेको उहाँको भनाइ छ । 

त्यस्तै सगरमाथाको प्रवेशद्वार नाम्चेबजार आसपासका क्षेत्रमा एक हजार दुई सय पर्यटक रहेको र समग्र खुम्बु क्षेत्रमा साढे पाँच हजार स्वदेशी तथा विदेशी पर्यटक रहेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । नम्चेमा करिब तीन हजार पाँच सय पर्यटक बास बस्न सक्ने होटलको क्षमता भएकाले पर्यटकलाई खान बस्नका लागि खासै समस्या नभएको उहाँले जानकारी दिनुभयो । नाम्चेमा रहेको होटल व्यवसायी सङ्घले सधैँको मूल्यमा नै खाना तथा बासको शुल्क लिने गरेको उहाँको भनाइ छ । 

मौसम प्रतिकूलताको मौका छोपेर सुर्केबाट सडक यातायात हुँदै सल्लेरी जाने गाडीले भने मनपरी भाडा लिने गरेको व्यवयासीको गुनासो छ ।  

एक जना पर्यटन व्यवसायीका अनुसार यसअघि प्रतिव्यक्ति तीन हजार रुपियाँ गाडी भाडा लिने गरेको भए पनि हाल १० हजार रुपियाँसम्म असुल्ने गरेको छ । एउटा जिपले ५० देखि ६० हजारसम्म रिजर्भ भाडा लिने गरेको पाइएको छ । यसरी मनपरी भाडा असुल्दा पर्यटकहरूमा नकारात्मक सन्देश जान सक्ने व्यवसायीको चिन्ता छ ।

यसैबिच सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा परेको हिमपात र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम कम गर्न तथा समस्या भएमा उद्धारका लागि जिल्ला सुरक्षा समिति तयारी अवस्थामा रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले दिङबुचेभन्दा माथिको क्षेत्रलाई बढी संवेदनशील क्षेत्रका रूपमा राखेका छौँ । हालसम्म कुनै पनि समस्या नआएको र समस्या परेमा सहजीकरणका लागि सबै सुरक्षा निकायका टोली तयारी अवस्थामा रहेका छन् ।”

मौसम प्रतिकूलताका कारण यातायात व्यवसायीले मनपरी भाडा लिएको विषयमा कुनै जानकारी नआएको र त्यस्तो भएमा जुनसुकै माध्यमबाट जानकारी गराएमा तत्काल कारबाही गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै टान (ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले मुख्य याममा मौसम खराब हुँदा खुम्बु आउने कतिपय पर्यटक रामेछापमा रोकिँदा अन्य गन्तव्यतर्फ जान थालेपछि यहाँको पर्यटन घट्ने बताउनुभयो ।