• १३ मंसिर २०८१, बिहिबार

पीडा र सन्नाटा बिच शवको पर्खाइमा न्यौपाने परिवार

blog

इजरायल आक्रमणमा मृत्यु भएका नारायणप्रसाद न्यौपानेको घर ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली) कात्तिक २ गते । कैलालीको घोडाघोडी–४ जनकपुरका हरिकृष्ण न्यौपाने छोराको मृत्युको खबरसँगै शोकमा हुनुहुन्छ । 

७५ वर्षीय न्यौपानेलाई प्यालेस्टाइनी विद्रोही हमासले इजरायलमा गरेको आक्रमणमा छोरोको मृत्यु भएको खबर सुनेदेखि न त दिनमा भोक छ न रातीको निन्द्रा । 

दिनभरि घरमा आफन्त, इष्टमित्र न्यौपानेलाई सान्त्वना दिन, सम्झाउन आउँछन् । वृद्ध न्यौपाने एकछिन मन थामे पनि भक्कानिँदै अचेत अवस्थामा पुग्नुहुन्छ ।

आमा सीता न्यौपानेको हालत उस्तै छ । छोराको मृत्युको खबर सुनेदेखि निद्रा, भोक, चैन छैन । 

आफ्नै कोखबाट जन्म नदिए पनि आफ्नो सन्तानभन्दा बढी माया र स्नेह दिएर हुर्काएको छोरा नारायणको इजरायलमा मृत्यु भएको खबर पाएकी सीतालाई त्यो खबर सत्य नभइदिए हुन्थ्यो भन्ने अझै लागिरहेको छ ।

असोज २० गते शनिबार प्यालेस्टाइनी विद्रोही हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाए । तीमध्ये कैलाली घोडाघोडी नगरपालिका ४ का नारायणप्रसाद न्यौपाने पनि एक हुन् ।

मृतक नारायणका बुवा हरिकृष्ण कसैसँग बोल्ने मनपनि गर्नुहुँदैन । आमा सीता भने मन दरो बनाएर वृद्ध श्रीमानलाई बेला बेला सम्झाउने गर्नुहुन्छ । 

सीताले मृत्यु भएको यतीका दिनसम्म शव नआउनु सरकारको दोष रहेको बताउनुभयो । “मृत्यु भएको १२ दिनसम्म लास नआउँदा परिवारमा के बितिरहेको छ भन्ने कुरा सरकारले किन महसुस गरेको छैन ?” सीताले प्रश्न गर्नुभयो ।

दसैँको मुखमा बाहिर गएका छोराहरू घर फर्किरहेका छन् । पढेर ज्ञान सिक्न विदेशी भूमिमा गएको छोरोको मृत्यु भएपछि शव कहिले आउला भन्दै दिन गनेर न्यौपाने परिवार बस्न बाध्य भएको छिमेकीहरू बताउँछन् ।

मृत्युको पिडा एकातर्फ छ भने शव समयमा नआउँदा परिवारमा थप पिडा भएको छिमेकी यशोदा बमले बताउनुभयो । धान खेती भित्र्याउन कामको चटारो छ, गाउँका मानिस पनि काममा व्यस्त हुन थालेका छन् । तर न्यौपाने परिवारमा घरको आशालाग्दो सन्तान गुमाउँदा र समयमा शव घरमा नआउँदा छट्पटिदै तड्पिरहेको छिमेकी बमले बताउनुभयो । 

छोरा नारायण पढ्दै कमाउँदै गर्न इजरायल गएका थिए । गएको एक महिना नपुग्दै मृत्यु भएको खबर आयो । 

नारायणको काकी दुर्गा भन्नुहुन्छ “बाबुको मृत्यु भएको भन्ने खबर हामीले सुन्यौ । मलाई त त्यो खबर नै गलत हो जस्तो लागेको छ । अहिलेसम्म पनि शव आएको छैन त्यो खबर गलत नै भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ ।”

मृत्युको खबरले विक्षिप्त बनेको न्यौपाने परिवारमा सबैभन्दा बढी चिन्ता वृद्ध बुवाको छ । सीता भन्नुहुन्छ “बिरामी बुवा औषधी खाइरहनुपर्छ, जे जस्तो अवस्थामा छ छोरालाई छिटो घर पुर्‍याइदिए सबैजना ढुक्क हुने थियौ ।”

नारायण परिवारका तीन छोरामध्ये माइला छोरा हुन् । उनी ६ वर्षको हुँदा आफ्नो आमाको मृत्यु भए पछि हरिकृष्णले दोस्रो विवाह गरेर सीतालाई भित्र्याउनु भएको थियो । आफ्नै कोखबाट जन्मेको सन्तान भन्दा बढी माया र स्नेह दिएर हुर्काएकी सीतालाई मृत्युको खबर आएको लामोसमयसम्म  नारायणको शव नआएपछि घरमा सन्नाटा र पीडा छ ।