• ६ जेठ २०८१, आइतबार

बेलिब्रिज जडान गर्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएको चौधरीको निधन

blog

नयाँ जडान कार्य भई रहेको मृतक चौधरी लडेको बेलीब्रीज । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक २ गते । कर्णाली कोरिडोरको सलीसल्लामा बेलिब्रिज जडान गर्ने क्रममा लडेर गम्भीर घाइते हुनु भएका २० वर्षीया सुरेश चौधरीको निधन भएको छ । सलीसल्लामा सञ्चालनमा रहेको हिमाल हेल्थ पोलिक्लिनिकमा प्राथमिक उपचार गरिए पनि उपचार सम्भव नहुँदा थप उपचारका लागि बाजुराको कोल्टी लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले सलीसल्लाको बेलिब्रिज जोड्ने क्रममा चिप्लिएर गम्भीर घाइते हुनु भएका बाराको कोलबी नगरपालिका–६ सनबार गाउँ घर भएका चौधरीको मृत्यु भएको बताउनुभयो ।

चौधरी गत मङ्गलबार बेलिब्रिजको नटबोल्ड कस्ने क्रममा चिप्लिएर नदी किनारमा खस्दा गम्भीर घाइते हुनु भएको थियो । घाइते हुनुभएको चौधरीको टाउको र ढाडमा चोट लागेको थियो ।

पोलिक्नीकले उपचार नहुने र सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि घाइते चौधरीलाई बोलेरो जिपमा कोल्टीतर्फ लगिएको हो ।

जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोड्ने कर्णाली कोरिडोर सडकअन्तर्गत सर्केगाड र चंखेली गाउँपालिकाको सलीसल्लामा तत्कालका लागि बेलीब्रीज जडान गरी तत्काल सर्केगार्ड गाउँपालिकाको स्याल्तडीसम्म यातायातका साधन सञ्चालन गर्न लागिएको छ ।