• २४ वैशाख २०८१, सोमबार

चाडबाडका बेलामा बैतडी क्रिकेटमय

blog

बैतडी, कात्तिक २ गते । नेपालीको मुख्य चाड दसैँ र तिहारको अवसरमा  बैतडी जिल्ला क्रिकेटमय बनेको छ । दसैँ र तिहारको अवसर पारेर यहाँ चारवटा क्रिकेट प्रतियोगिता आयोजना गरिँदै छ ।

आजदेखि दोस्रो संस्करणको वाशुलिङ प्रिमियर लिग (बिपीएल) सुरु भएको छ भने यही कात्तिक १० गतेदेखि  पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करण, १५ गतेदेखि दशरथचन्द नगरपालिकामा नगरस्तरीय क्रिकेट र आगामी मङ्सिरमा बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ  ।

बाशुलिङ क्रिकेट क्लबको आयोजनामा हुने (बिपीएल) सिजन टु का खेल सिद्धखाली खेलमैदान सतबाँझमा भइरहेका छन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको उक्त क्लब का प्रतिनिधि नवराज ऐरीले जानकारी दिनुभयो । प्रथम हुने टोलीलाई रु ३५ हजार र दोस्रो हुने टोलीललाई रु १८ हजार पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी, साथै पाटन क्रिकेट क्लबको आयोजनामा हुने पिपिएल–३ का खेलहरू श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन हुनेछन् । सो प्रतियोगिताका लागि १८ टोली सहभागी हुने भएका छन् । विजेता टोलीले रु एक लाख ११ हजार एक सय ११ र दोस्रो हुनेले रु ५५ हजार पाँच सय ५५ पाउने क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो ।

यस्तै दशरथचन्द नगरपालिकास्तरीय क्रिकेट प्रतियोगिता यही कात्तिक १५ गतेदेखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समितिले जारी गरेको सूचनामा कात्तिक २३ गतेसम्म नगरस्तरीय पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुने जनाएको छ ।

बुड्डाबाजे खेलमैदान रातामाटा हुने सो प्रतियोगितामा सहभागी हुने टोलीलाई सहभागिताका लागि प्रत्येक वडा कार्यालयलाई आग्रह गरिएको छ । वडागत टोलीको व्यवस्थापन वडा कार्यालयले गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले बताउनुभयो ।

दशरथचन्द नगरपालिकाको पूर्वनिर्धारित खेलकुद कार्यक्रमअनुसार क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भएको हो । जिल्ला क्रिकेट सङ्घले मङ्सिर १६ गतेदेखि बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । सो सङ्घले जिल्लामा रहेका १३ ओटा क्रियाशील क्रिकेट क्लबलाई समेट्दै बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजनाको गर्न लागेको सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

जिल्लाको सहिद दशरथचन्द खेलमैदान सुन्दरखाली र पाटन खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा भाग लिने टोलीलाई कात्तिक मसान्तभित्र सहभागिताका लागि आग्रह गरिएको छ ।

सहिद दशरथचन्द खेलमैदानमा नागार्जुन क्रिकेट क्लब, कालशैनी क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, प्रतिष्ठान, एनआरवाइसी बठ्ठा र पञ्चकोटी क्रिकेट क्लबहरूबिच खेल हुने छ । त्यसैगरी पाटन खेलमैदानमा निङ्लासैनी क्रिकेट क्लब, नवजागृति क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, यौंगस्टार क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब र पाटन क्रिकेट क्लबबिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितासम्बन्धी कार्यविधि र सहभागिता शुल्कका विषयमा अर्को सूचनामार्फत जानकारी गराइने आयोजक सङ्घले जनाएको छ, यस्ता प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने  सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो। नियमितरूपमा हुने प्रतियोगिताले खेलाडी क्षमता अभिवृद्धि र क्रिकेटको विकासमा टेवा पुग्ने उहाँको भनाइ थियो । रासस