एकिन्द्र तिमिल्सेना
टीकापुर कात्तिक १ गते । टीकापुर नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । दशैं नजिकिदै जाँदा किरानाका थोक पसललाई लक्षितगरी बुधबार १६ वटा पसलको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा मूल्यसूचि, खरिदबिक्रीको विवरण र बस्तुको उपभोग्य मितिलाई ख्याल गरिएको छ । नगरपालिकाबाट निरन्तर अनुगमन हुन थालेपछि विगत वर्षको तुलनामा टीकापुरका व्यवसायीहरु सचेत बन्दैगएका छन् ।
नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्य यसपटकको अनुगमन गर्दा व्यवसायीहरु सचेत भएको र बजार सुधारिएको फेला परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले एउटै पसलमा बोरा भरी म्याद नाघेका सामान भेटिन्थे, जफत गर्न र धुल्याउनै पनि समस्या हुन्थ्यो, यसपटक म्याद नाघेका सामान भेटिएका पसलमा पनि न्यून मात्रामा फेला परेका छन् । यो व्यवसायीका लागि पनि राम्रो कुरा हो ।’
नगरपालिकाको अनुगमन टोली पुगेका पसलमा व्यापारीले म्याद नाघेका समानहरु छुट्टयाएर राखेको, दर्ता नवीकरण गरिएका पाइएको छ । १६ वटा ठूला पसल अनुगमन गर्दा ६ वटामा कुनै कैफियत भेटिएन भने बाँकी पसलमा पनि छिटपुट रुपमा मात्रै म्याद नाघेका सामान भेटिएका छन् । बिक्रीस्थलमा भेटिएका म्याद नाघेका सामान सम्वन्धित व्यवसायीलाई नै तत्काल नष्ट गर्न लगाइएको नगरपालिकाका उपभोक्ता हित संरक्षण उपशाखाका प्रमुख नन्दबहादुर केसीले बताउनुभयो ।
पसलमा आएका सामानको बिक्री मूल्य प्रणालीमै राखिएको र बिक्रीगर्दा कम्प्यूटर बील जारी गर्दा ग्राहकको विश्वास बढेको सेभेन रेम्बोमार्टमा सञ्चालक बिन्तिराम चौधरीले बताउनुभयो ।
ओम मार्टका सञ्चालक ओम विष्ट पनि हरेक दिन सामानको अवस्था दुरुस्त गर्ने गरेको र अनुगमन टोली पुग्दा पसलमा कुनै कैफियत नभेटिएपछि खुशी लागेको बताउनुभयो ।
इलाका प्रशासन कार्यालय टीकापुरका नायब सुब्बा रमेश डगौरा केही पसलमा अझै पनि म्याद नाघेका समान रहेकाले उपभोक्ताले सामान किन्दा चनाखो भएर किन्नुपर्ने र अनुगमनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
उपभोक्त हित संरक्षण मञ्च टीकापुरका सचिव शेरबहादुर विष्ट स्थानीय सरकारले गरेको बजार अनुगमनको प्रभाव देखिनु उपभोक्ताका लागि खुशीको कुरा भएको बताउनुभयो ।