• १३ मंसिर २०८१, बिहिबार

लाखौँ मूल्यको बन्दा उत्पादन

blog

बडीमालिका समाचारदाता

बडीमालिका, कात्तिक १ गते । तरकारी तथा फलफूल उत्पादनको भण्डार मानिएको बाजुराको बडीमालिका–७ का किसानले एकै सिजनमा २२ लाख मूल्यबराबरको बन्दा उत्पादन गरेका छन् । वडा नम्बर–७ कोे जिल्ली, रजातोली र ढम्कनेलगायतका गाउँबस्तीमा यति मूल्यको बन्दा उत्पादन भएको कृषक खडकबहादुर धामीले बताउनुभयो। 

कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित प्राङ्गारिक मिसन कार्यक्रम अन्तर्गत माटो परीक्षण, प्राङ्गारिक मलको प्रयोग गरी माटो सुहाउँदो खेती गर्दा एकै वडामा यति ठुलो मात्रामा तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।

कृषकले होलसेल मूल्यमा प्रतिकेजी २० रुपियाँका दरले बन्दा बिक्री गरेको ढम्कने बहुउद्देश्यीय सहकारीले जनाएको छ । बारीबाटै बन्दा खरिद तथा ढुवानीको जिम्मा ढम्कने बहुउद्देश्यीय सहकारीले लिएको सहकारीका व्यवस्थापक रामबहादुर धामीले बताउनुभयो ।

बडीमालिका–७, ढम्कने टोलबाट ४७८ क्विन्टल, रजातोली र जिल्ली टोलबाट १५० क्विन्टल गरी वडाभरि ६२८ क्विन्टल बन्दा बिक्री गरिएको सहकारी व्यवस्थापक धामीले जानकारी दिनुभयो । 

यसबाट थोकमा हिसाब गर्दा १२ लाख ५० हजार कृषकको हातमा नगद पुगेको छ भने अझै करिब ५०० क्विन्टल बिक्री हुन बाँकी रहेको सहकारीले जनाएको छ । सहकारीका अनुसार यस वडामा एक हजार एक सय क्विन्टल बन्दा उत्पादन भएको हो । बाँकी बन्दा बिक्री भएमा २२ लाख ५० हजारको बन्दाको मात्रै कारोबार हुने सहकारीका व्यवस्थापक धामीको भनाइ छ । 

सबैभन्दा बढी ढम्कने टोलका कृषक खडकबहादुर धामीले ८० हजारको बन्दा उत्पादन गरी बिक्री वितरण गरिसकेको बताउनुभयो । बारीबाटै थोकमा बन्दा खरिद गरी सहकारीले प्रदेश राजधानी धनगढीसम्म पु¥याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

बडीमालिका नगरपालिकाको चुथीदेखि बुढीनन्दा नगरपालिकाको  पाण्डुसैनसम्मको क्षेत्रलाई वर्षे तरकारीको पकेट क्षेत्र बनाउने गरी कृषि उत्पादनको काम भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जैसीले बताउनुभयो ।

सडक सुचारु नहुँदा कृषकले पाँच घण्टाको पैदल बाटोमा भारी बोकेर दुःखका साथ तरकारी बजारसम्म पु¥याएका थिए तर सडक सुचारु भएपछि बडीमालिका नगरपालिकाको कृषि एम्बुलेन्समार्फत तरकारी ढुवानी भइरहेको वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो ।