प्रेमराज सिम्खडा
कालीकोट, असोज ३० गते । कालीकोट जिल्लाका लेकाली क्षेत्रमा पानीसँगै हिमपात भएको छ । तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका लगायतका लेकाली क्षेत्रमा पानी परेसँगै हिमपात भएको हो ।
लेकाली क्षेत्रमा भएको हिमपातका कारणले चिसो पनि निकै बढेको छ । पहाडमा जमेको हिमपातको सिरेटोका कारणले चिसो पनि अत्यधिक बढेको हो । पाँखा स्वास्थ्यचौकी इन्चार्ज नयाबहादुर बिष्टले माथिल्लो क्षेत्रमा परेको हिमपातका कारणले चिसो बढेको बताउनुभयो । चिसोका कारणले स्वास्थ्यचौकी आउने बिरामी पनि घटेका छन् ।
सोमबार यही समयमा ५० जनाभन्दा बढि बिरामी स्वास्थ्य परीक्षणमा आएका थिए । तर आज चिसो अत्यधिक भएकाले कोही पनि बिरामी स्वास्थ्यचौकी नआएको इन्चार्ज बिष्टले बताउनुभयो ।
सोमबार राति पानी परेसँगै लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएपछि त्यहाँ रहेका भेडाबाख्रालाई तल्लो क्षेत्रमा झार्न सुरु गरिएको छ । रास्कोट–२ का रंग खड्काले जिउलीमा हिमपात भएकाले भेडा अलि तल झारिएको बताउनुभयो । उहाँले यसपालि असोजमै हिमपात भएको बताउनुभयो । विगतका वर्षमा कात्तिक लागेपछि हिमपात हुने गरे पनि यो वर्ष भने असोजमै हिमपात भएको हो ।