• ६ जेठ २०८१, आइतबार

‘मुलुक विकासका लागि दुवै शक्ति सन्तुलन हुनुपर्छ’

blog

कर्णाली, असोज २९ गते ।  कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको अपेक्षित विकासका लागि दुवै शक्ति सन्तुलन हुनुपर्ने बताउनुभएको छ ।

नेपाली हिन्दूको महान् पर्व विजयादशमी तथा तिहारका साथै छठपर्वका अवसरमा वीरेन्द्रनगरमा सोमबारआयोजित प्रेस सेन्टरसँग आबद्ध पत्रकारसँगको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजनीति र प्रशासनिक दुवै शक्ति सन्तुलनबाट मात्र देशले अपेक्षा गरेको विकास हुनसक्ने धारणा व्यक्त गर्नुभयो । 

पूर्वमुख्यमन्त्री शाहीले भन्नुभयो, “आवधिक र स्थायी दुवै सरकारको आपसी सम्बन्ध, समझदारी र जिम्मेवारीप्रतिको बोधगम्यताले मात्र निर्मित नीति, नियम, बजेट, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसक्छ । त्यसो हुँदा प्रतिफल देखिने गरी काम भएको जनताले अनभूति गर्न सक्छन् ।” त्यसका साथै उहाँले जनताको अवस्था बदल्न परम्परागत सोच र संरचना दुवैको पुनःसंरचना आवश्यक रहेकोसमेत उल्लेख गर्नुभयो । 

उक्त भेटघाट कार्यक्रममा कर्णालीका दूरदराजमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मीको आर्थिक तथा सामाजिक सुदृढीकरणका लागि सरकारले सञ्चार माध्यममैत्री कार्यक्रम ल्याउनुर्नेमा समेत उहाँले जोड दिनुभयो । 

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ ले जनतामा उभार ल्याएको बताउँदै पूर्वमुख्यमन्त्री शाहीले माओवादी सक्याउन अन्तर्राष्ट्रिय शक्ति केन्द्र पनि लागेको जिकिर गर्नुभयो । रासस