• १५ मंसिर २०८१, शनिबार

दोब्बरभाडा लिने चार सुमो कारबाहीमा

blog

राजकुमार भट्टराई
खोटाङ, असोज २८ । 
खोटाङ आवतजावत गर्ने सावारी साधनहरूले चाडपर्वको मौका पारेर दोब्बरसम्म भाडा लिने गरेको पाइएको छ । विशेषगरी सुमोहरूले यात्रुबाट दोब्बरसम्म भाडा लिने गरेको पाइएको हो ।

आउँदै गरेको दसैँ, तिहार तथा छठ लगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले खोटाङमा सुरु गरेको विशेष सवारी जाँच अभियानको दोस्रो दिनमै बढी भाडा लिने चारवटा यात्रुवाहक सुमो (जिप) कारबाहीमा परेका छन् । सुमो चालकले यात्रुबाट निर्धारण गरिएको भाडादरभन्दा झण्डै दोब्बर बढी भाडा लिने गरेको पाइएपछि कारबाही सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले जानकारी दिनुभयो ।

सहायक निरीक्षक पौडेलका अनुसार दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा दुई हजार १० रुपियाँ कायम गरेको भए पनि सुमो चालक तथा सञ्चालकले विभिन्न बहानामा यात्रुबाट दुई हजार दुई सयदेखि तीन हजार पाँच सयसम्म भाडा लिने गरेको पाइएको छ । सवारी जाँच गर्न सुरु गरेको दुई दिनमै चार वटा सुमोले बदमासी गरेको भेटिएपछि उनीहरूलाई तीन हजारसम्म जरिवाना गराएर यात्रुबाट बढी लिएको रकम फिर्ता गराइएको उहाँको भनाइ छ । 

ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको यात्रुवाहक सुमो कारबाहीमा परेको हो । ना १ ज ५६५९ नम्बरको सुमोले सबैभन्दा बढी रु एक हजार ४९० अर्थात् रु तीन हजार पाँच सयसम्म रकम लिएको पाइएको ट्राफिक प्रहरीको भनाइ छ ।

सुमो चालकहरूले टिकट दिन मान्दैनन्, तर मनपरी भाडा लिन्छन् । प्रत्येक यात्रुसँग फरक–फरक भाडा चालकहरूले लिने गरेको यात्रुहरूको भनाइ छ । “हामीले तोकिएभन्दा बढी रकम तिनुपर्छ भने टिकट दिनुस् भन्यौँ । उल्टै बाटोमा प्रहरीले सोधेको खण्डमा रिजर्भमा आएको भन्न लगाउँछन् । वर्ष दिनमा आउने चाड मान्न जसरी पनि आफ्नो घर जानुपर्ने अवस्था छ”, एक यात्रुले भन्नुभयो, “चाडपर्वको अवसर पारेर वर्ष दिनपछि बल्ल आफ्नो घर जान पाइन्छ । छुट्टी लामो हुँदैन । भाडाको विषयमा बार्गेनिङ गर्न थाल्यो भने अर्को मान्छे चढाएर पठाउँछ । बसौँ भने होटलमा एक रातको दुई÷तीन हजार रुपियाँभन्दा बढी उठ्छ । होटलमा तिर्नुभन्दा एक दिनभए पनि अगाडि नै घर पुगिन्छ भन्ने सोचेर बढी नै भए पनि भाडा तिरेर आएका थियौँ । दिक्तेल आइपुगेपछि तोकिएभन्दा बढी लिएको रकम ट्राफिक प्रहरीले फिर्ता गराइदिएको छ ।”

दश स्थानीय तह रहेको जिल्लामा लामो तथा छोटो दूरीमा सञ्चालन हुने करिब १५० वटा सुमो रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारभन्दा बाहिर सञ्चालन हुने सुमोले सबैभन्दा बढी मनपरी भाडा असुल्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन् । काठमाडौँ तथा तराईका जिल्लाहरूबाट खोटाङका ग्रामीण पालिकाहरूमा आवतजावत गर्ने सुमो चालकको अझै बढी मनपरी हुने गरेको छ । दुई हजार पाँच सय भाडा भएको ठाउँमा चार हजारसम्म भाडा तिर्न बाध्य भएको यात्रुहरूको गुनासो छ । तोकिएभन्दा धेरै भाडा दिन्न भन्दा, तँ नगए अर्को जान्छ भन्दै यात्रुहरूलाई अभद्र व्यवहारसमेत सुमो चालकले गर्ने गरेका छन् । 

चाडपर्वको बहानामा सवारी चालकले यात्रुबाट बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा अभद्र व्यवहार गर्ने भएकाले नियन्त्रण गर्न जिल्लाका विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभएको छ । चालकहरूले नियम विपरीत काम गरेमा जिल्ला प्रहरी कार्यालय खोटाङको १०० नम्बरको हट लाइन सेवामा चौबीसैघण्टा फोन गर्न सकिने उहाँको भनाइ छ । 

जिल्लामा बस तथा सुमो सञ्चालन गर्ने आधा दर्जनबढी यातायात प्रा.लि. छन् । तर हालसम्म खोटाङ यातायात प्रा.लि.ले मात्र भाडादर सार्वजनिक गरेको छ । खोटाङ यातायात प्रा.लि.ले सार्वजनिक गरेको भाडादर अनुसार बसमा दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा एक हजार ६१० रुपियाँ निर्धारण गरिएको छ भने दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी भाडा एक हजार ६५० कायम गरिएको छ । सुमोका लागि दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा दुई हजार १०, दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी भाडा दुई हजार १२५ निर्धारण गरिएको जनाइएको छ ।