• १५ मंसिर २०८१, शनिबार

अध्यक्षकपको उपाधि दिर्घेश्वरमाविलाई

blog

प्रथम गाउँपालिका अध्यक्षकप फुटवल प्रतियोगीता ‘२०८०’ को उपाधी दिर्घेश्वर माविलाई । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, असोज २८ गते ।
 गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि सुरु भएको प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ को उपाधि दिर्घेश्वर माविले उचालेको छ । शनिबार भएको फाइनल खेलमा ज्ञानमार्ग माविलाई हराउँदै दिर्घेश्वर माविले उपाधि हात पारेको हो । भद्रकाली मावि तेस्रो भएको छ । 

प्रतियोगितामा पालिका भित्र रहेका माध्यमिक विद्यालयहरूबाट फुटबल टिमको सहभागिता रहेको छ ।

यस्तै, छात्रातर्फको प्रतियोगिताको उपाधि रत्नेश्वर माविले जितेको छ । फाइनल खेलमा भगवती माविलाई हराउँदै रत्नेश्वर मावि विजयी भएको हो । प्रतियोगितामा भैरबश्रम मावि तेस्रो भएको छ ।

गाउँपालिका–५ स्थित दर्बुङमा सुरु भएको प्रतियोगितामा प्रत्येक विद्यालयहरूबाट छात्र तथा छात्राहरूको फुटबल टिम सहभागी भएका थिए । प्रतियोगितामा छात्र र छात्रा दुबैतर्फ प्रथम हुने विद्यालयले ३० हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताउनुभयो ।

यसैगरी, दोस्रो हुने टिमले नगद १५ हजार रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र तथा तेस्रो हुने टिमले नगद सात हजारसहित ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गण्डकी गाउँपालिकाले पहिलो पटक आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार अन्तर फुटबल प्रतियोगिता गरिएको बताइएको छ ।