• २१ असार २०८१, शुक्रबार

सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट अर्याल सम्मानित

blog

विज्ञ टंकराज अर्याललाई सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट सम्मानित गर्नुहुँदै नेपालगञ्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असोज २८ गते । 
सूचनाको हक, सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका विज्ञ टङ्कराज अर्याललाई सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट सम्मान गरिएको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र आइएचआरसी नेपालगन्जले आफ्नो ११औँ वार्षिक साधारण सभामा सूचनाको हकका विज्ञ अर्याललाई राष्ट्रिय अवार्डले सम्मान गरेको हो । अर्यालले लामो समयदेखि सूचनाको हकको कार्यान्वयन, सचेतना, सरोकारवाला निकायको भूमिका लगायतका विषयमा उल्लेख्य भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

उहाँ अहिले सार्वजनिक निकायले सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई कार्यान्वयन गर्न डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न सूचना विवरणलाई सार्वजनिक गर्न पैरवी समेत गरिरहनु भएको छ । डिजिटल राईटस नेपालका अध्यक्ष समेत रहनुभएका अर्यालले नागरिक समाजको अभियान र मानव अधिकारको क्षेत्रमा उहाँले सहयोग गर्दै आउनु भएको छ ।

सूचनाको हक र सुशासन क्षेत्रमा क्रियाशील संस्था आइएचआरसीले यसभन्दा अघि वरिष्ठ पत्रकारद्धय तारानाथ दाहाल र धमेन्द्र झालाई सम्मान गरिसकेको संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो ।

उहाँका अनुसार सूचनाको हकको मुख्य विषयमा काम गर्ने संस्थाको रूपमा परिचित संस्थाले हरेक वर्ष राष्ट्रियस्तरमा सूचनाको हक र सुशासनको क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ती वा संस्थालाई सम्मान गर्दै आएको छ । संस्थाको साधारण सभाको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले अर्याललाई उक्त सम्मान गर्नुभएको हो ।

अर्यालका साथसाथै कार्यक्रममा केन्द्रको कार्यालयमा कार्यरत सीमा हमाललाई कर्मचारी प्रोत्साहन पुरस्कार–२०८० बाट सम्मानित गरिएको थियो ।