• ११ असोज २०८१, शुक्रबार

जटायु रेष्टुरेन्ट गिद्ध अध्ययन केन्द्रको रुपमा विकास हुँदै

blog

जटायूु रेष्टुुरेन्टमा रहेका गिद्ध । तस्विर : होमराज रानाभाट

होमराज रानाभाट 

कावासोत, असोज २७ गते । लोपोन्मुख गिद्ध संरक्षण गर्न १९ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसंगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास गरिएको छ ।

विगत ६ वर्ष यता यहाँ जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, तिनका प्रजाति, गिद्धको जीवनशैली र वासस्थानका विषयमा अध्ययन गर्न आउनेगरेको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताउनुभयो ।

यो समयमा गिद्ध घुम्ने मौसम भएकाले जटायु रेष्टुुरेन्टमा गिद्धको सङ्ख्या बढदैगएको छ । गिद्धलाई चाहिने आहार बिहारको पनि यहाँ राम्रो व्यवस्थापन भएकाले पनि हरेक वर्षको असोजदेखि वैशाखसम्म धेरै गिद्ध यहाँ आउनेगरेको चौधरीले बताउनुभयो । एक वर्ष यता मात्रै यहाँ २० भन्दा बढी गिद्ध मरेका छन् । 

रेष्टुरेन्टमा राखिएका गिद्धलाई खाना दिइने गरेको हप्ताको दुई दिनमध्ये एक दिन अध्ययन–अवलोकन गर्न आउनेका लागि खुला गरिएको चौधरीले बताउनुभयो । अहिले एक पटकको अवलोकनमा २० देखि ३० जनासम्म आउनेगरेका छन् ।

खाना दिने दिन धेरैको सङ्ख्यामा गिद्ध देखिने हुँदा गिद्ध अवलोकन र अध्ययनका लागि समेत सहज हुने भएकाले अब चाँडै नै हप्ताको दुई दिन अवलोकनका लागि खुला गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । यहाँका गिद्धलाई हप्ताको दुई दिन खाना दिने गरिएको छ । अन्य दिन घुमफिर गर्दा बाहिरको खाना खाने गर्छन् ।

विषादीयुक्त आहारा र वासस्थानमा आएको ह्रासका कारण बर्सेनि गिद्ध मासिँदै गएपछि नेपालमा पहिलो पटक १९ वर्षअघि चौधरीको अगुवाइमा समुदाय स्तरबाट जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो । यहाँ लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको छ । 

रेष्टुरेन्टले गिद्धको आहाराका लागि गाउँघरबाट मरेका गाईभैँसी ल्याएर फाल्नेगरेको छ । रेष्टुरेन्टको गौशालामा पालिएका गाईबस्तु मरेपछि गिद्धका आहाराका लागि प्रयोग गरिने चौधरीले बताउनुभयो । यसबाहेक जिल्लाभित्र विभिन्न कृषि फार्ममा मरेका गाईभैँसी ल्याएर परीक्षण पश्चात् आहाराका रूपमा प्रयोग गरिने गरिएको छ । 

कावासोती–१३ मा रहेको नमुना सामुदायिक मध्यवर्ती वनको करिब ५२ हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका  गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यहाँ अहिले रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन् ।