• २ जेठ २०८२, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा हज यात्रीलाई बिदाइ

blog

राष्ट्रपति रामचन्द्र पौडेल हज यात्रीको साथमा । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, जेठ २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता रहेको बताउनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लाग्नुभएका हज यात्रीलाई शुभकामना दिने क्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । 

“विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हज यात्राले यसमा ठुलो योगदान दिने विश्वासका साथ तपाईँहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभयो । 

उहाँले परापूर्वकालदेखि नै नेपाल राज्य निर्माणमा यो समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । “पवित्र आस्था र विश्वास बोकेर जाने हज यात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने नै छ भन्ने मैले विश्वास लिएको छु, हज कार्यलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न समयानुकुल आवश्यक नीति, नियम  र प्रबन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

सो अवसरमा राष्ट्रपतिलाई हज यात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिनुभएको थियो । मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलो पटक यसरी हज यात्रीलाई हज यात्राका लागि राष्ट्रपति भवनमा शुभकामना सहित बिदाइ गरिनु गौरवको विषय भएको बताउनुभयो ।