गोरखापत्र अनलाइन
काठमाडौँ, पुस ९ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्यले गोरखापत्र दैनिकसँग आगामी निर्वाचन, सञ्चार क्षेत्रको सुशासन, सञ्चारकर्मीका दक्षता अभिवृद्धि, डिजिटल अकाईभिङलगायतमा सहकार्य गर्न सक्ने बताउनु भएको छ ।
उहाँले मङ्गलबार गोरखापत्र संस्थानका विभिन्न प्रकाशनको अनुगमन गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।
प्रेस काउन्सिलले सञ्चार क्षेत्रका लागि नियमनभन्दा पनि सहजीकरण गर्ने छ, १२५ वर्षको पुरानो भए पनि गोरखापत्र संस्थानले युवा नेतृत्व पाएकाले सहकार्य गर्न सहज भएको भनाइ पनि अध्यक्ष आचार्यको छ । उहाँले गोरखापत्र प्रकाशनको १२५ औं वर्ष मनाइरहेको सन्दर्भमा गोरखापत्र प्रकाशन हुनुभन्दा अगाडि नै आचारसंहिता जस्तै ‘सनद’ जारी भएको पहिलो पटक सुनेको भन्दै आश्चर्य मान्नुभयो ।
नेपालको पहिलो आचारसंहिता ‘सनद’ : महप्रबन्धक ऐरी
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले आचारसंहिता उल्लङ्घन नगर्ने नीति गोरखापत्र संस्थानको रहेको स्पष्ट पार्दै नेपालको पहिलो आचार संहिता ‘सनद’ भनेर प्राथमिकतामा राख्न काउन्सिलसँग आग्रह गर्नुभयो ।
वि.सं. १९५८ वैशाख २४ गतेबाट गोरखापत्रको प्रकाशन सुरु भए पनि गोरखापत्रमा के प्रकाशन गर्ने र के नगर्ने भनेर वि.सं. १९५८ वैशाख ११ गते ‘सनद’ जारी भएको थियो । आचारसंहिताको आधारबिन्दु नै त्यही भएकाले काउन्सिलले ‘सनद’ को सम्मान गरेर आचारसंहिता बनाउनुपर्ने सुझाव महाप्रबन्धक ऐरीको छ ।
गोरखापत्रले संस्थानका प्रकाशनको अर्काइभ गर्ने क्रम जारी रहेको जानकारी दिँदै महाप्रबन्धक ऐरीले ‘गोरखापत्र एकेडेमी’ को स्थापना भई पुस ३ गते राष्ट्रियस्तरको ‘गोरखापत्र डिस्कोर्स’ सञ्चालन गरेर सरकार र निजी क्षेत्र एउटै मञ्चमा आएर मुलुकको अर्थतन्त्रको उत्थानका बारेमा बहस भएको जानकारी गराउनु भयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य गोरखापत्र संस्थानको अत्याधुनिक डिजिटल अर्काभ कक्षको अवलोकन गर्नुहुँदै ।
प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार आचार्यसहितको टोलीको स्वागत गर्दै गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले क्षणिक र सनसनीपूर्ण समाचार बनाउने अभ्यास गोरखापत्रमा नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले गोरखापत्र र प्रेस काउन्सिल नेपालबीच विभिन्न क्षेत्रमा सहकार्य हुन सक्ने चर्चा गर्दै गोरखापत्रमा ४६ वटा राष्ट्र भाषाका सामग्री प्रकाशन गरेर राष्ट्रिय एकतालाई अझ बलियो बनाउने कर्ममा संस्थान लागेको बताउनुभयो । उहाँले नेपालको पहिलो अंग्रेजी भाषाको ब्रोडसिट दैनिक ‘द राइजिङ नेपाल’ ६१ वर्षमा प्रवेश गरेको, मधुपर्क, युवामञ्च, मुना मासिकका साथै गोरखापत्र अनलाइन, राइजिङडेली अनलाइन सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा काउन्सिलका सदस्य बालकृष्ण अधिकारीले गोरखापत्र वर्तमान र भविष्यको नेपाली पत्रकारिताको मानक हो र गोरखापत्र हेर्दा भाषा, भाषी र नेपालको भूगोल झल्कन्छ भन्नुभयो ।
पत्रकारितामा गोरखापत्रले अभिभावकको भूमिका खेलिरहेको छ भन्दै उहाँले काउन्सिल पत्र काट्ने अड्डा मात्र होइन मिडियाका समस्या समाधान गर्न पहल पनि गर्ने जानकारी दिनुभयो ।
काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले पछिल्लो समय गोरखापत्र संस्थानका छापा तथा अनलाइन संस्करणमा प्रकाशन भएका सामग्रीका विषयमा आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी नपरेको जानकारी दिनुभयो ।
गोरखापत्रले ‘एकेडेमी’ स्थापना गरेर ऐतिहासिक काम सुरु गरेकोमा खुसी व्यक्त गर्दै उहाँले पत्रकारको क्षमता अभिवृद्धिका लागि गोरखापत्रको एकेडेमीसँग मिलेर काम गर्न सकिन्छ भन्नुभयो ।
कार्यक्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको पहिलो अङ्कको प्रतिकृति प्रदान गरेर अध्यक्ष डा. आचार्यको सफल कार्य अवधिको शुभकामना दिनुभयो ।