शेरबहादुर सार्की
बाजुरा, जेठ २ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रका अधिकांश किसानले गहुँ चुट्न हलगोरु प्रयोग गर्न थालेका छन् । खेतबारीदेखि गहुँ टिपेर एक ठाउँमा जम्मा गर्ने र त्यसपछि त्यसैमा हलगोरु दौडाउने गरेपछि भुइमा राखेको वा फिजेको गहुँ राम्रोसँग निक्लिने भएपछि उनीहरु हलगोरुको प्रयोग गर्न थालेका हुन् ।
खेतबारीदेखि गहुँ टिपेर घरमा ल्याउने र घरमा खलो (जमिनमा लिपपोट गरेको ठाउँ) बनाउने र त्यसैमा गोठदेखि हलगोरु खोलेर दाई लगाउँने गर्दा त्यसमा राखेको गहुँको दान राम्रोसँग निक्लिने गर्छ ।
गाउँमा ग्याब्री (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) बनाउने चलन हराउँदै गएकोले पछिललो समय यहाँका किसान हलगोरुको प्रयोगले गहुँ चुट्ने गरेको बुढीननदा नगरपालिका –२ की जमुना रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “हलगोरुले गहुँ चाँडो चुटिने भएकोले यहाँका स्थानीय सधै गहुँ निकाल्न हलगोरुले दाई लगाउँछन् ।”
गहुँ टिपेर घरमा ल्याउने खलोमा (जमिन लिपपोत गरेको ठाउँ) सबै गहुँ राख्ने त्यसपछि गाउँका सबै हलगोरु ल्याएर त्यसैले दाई लगाउँने गरेकोले रोकायाले बताउनुभयो ।
जिल्लाको तल्लो क्षेत्र बुढीगङ्गा त्रिवेणी खप्तड छेडेदहमा ग्याब्रीले (घँगारुको काठलाई गाई गोरुको छालाले बुन्ने) गहँु चुट्ने गर्दछन् भने यहाँका पूर्वीउत्तर क्षेत्रका पर्ने हिमाली, जगनाथ , स्वामिकार्तिक, बुढीनन्दा नगरपालिका अधिकाशं स्थानीयले हलगोरुको प्रयोग गर्ने गरेका छन् ।