• २२ वैशाख २०८१, शनिबार

‘राजनीतिक दलहरूले राष्ट्र निर्माणमा आफूलाई केन्द्रित गर्नुपर्छ’

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नगरी राष्ट्र निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 

काठमाडौँको गोकर्ण रिसोर्टमा आजदेखि सुरुभएको एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को पाँचौँ सम्मेलनको उद्घाटनसत्रमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । राजनीतिक दलका लागि सरकारभन्दा जनता महत्त्वपूर्ण रहेको चर्चा गर्नुहुँदै उहाँले जनता र देशको निम्ति काम गर्न दलहरू निर्माण हुनेगरेको चर्चा गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “सबैका लागि न्याय सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सदभाव तथा सहयोगको भावना प्रवर्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुन्छ ।” जलवायु सङ्कट, स्वास्थ्य विपद् र द्वन्द्व समकालीन विश्वका सबैभन्दा ठुलो चुनौती रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यसको समाधानको जिम्मेवारी पनि राजनीतिक दलहरूको भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक दलहरूले आफ्नो दक्षता बढाउन तथा व्यावसायिक क्षमताको विकास गर्न जरुरी छ । एसियाली राजनीतिक दलहरूले गर्न सक्ने योगदान विशिष्ट हुनेछ भन्ने मेरो विश्वास छ ।” 

शताब्दीऔंदेखि एसिया शिक्षा, ज्ञान निर्माण र विकासको केन्द्र रहिआएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “सन् १ देखि १८२० सम्म भारत र चीनले विश्वको करिब ५० प्रतिशत बरावर आर्थिक उत्पादन गर्थे । आज सन् २०२३ मा आइपुग्दा विश्व आर्थिक गतिविधिको केन्द्र फेरि एसियातर्फ सरिरहेको छ भन्न सङ्कोच मान्नु पर्दैन ।”

हेर्नुहोस् सम्बोधनको पूर्णपाठ