कालीकोट समाचारदाता
कालीकोट, असोज २७ गते । जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग अझै प्रत्यक्ष जोडिइसकेको छैन । गाउँपालिकालाई राजमार्गसँग जोड्न तिला नदीमा पुल निर्माण गर्नुपर्ने वा छिमेकी शुभकालिका गाउँपालिका हुँदै सडक जोड्नु पर्छ । बिचमा तिला नदीले बार लगाएका कारण अहिले पनि महाबै गाउँपालिका राष्ट्रिय राजमार्गसँग जोडिन सकेको छैन ।
पछिल्लो समय प्रदेश सरकारले तिला नदीमा बेलिब्रिज जोड्ने अनुमति दिएपछि महावै गाउँपालिकाले सेरावाडा–पाद्माघाट सडक निर्माणलाई तीव्रता दिएको छ । गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले सेरीघाट तिला नदीमा रहेको बेलिब्रिज पुल निकालेर सेरावाडामा जोड्ने काम अघि बढिसकेकाले सेरावाडा–पाद्माघाट सडक निर्माण छिटो सक्न निर्माण व्यवसायीलाई निर्देशन दिएको बताउनुभयो ।
उहाँले आफू सडक अनुगमनमा जाँदा सडक फराकिलो निर्माण भइरहेको पाएकाले अझै राम्रो र छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । सेरावाडा–पाद्माघाट सडक निर्माण सम्पन्न भएमा महावै गाउँपालिका राष्ट्रिय राजमार्गसँग जोडिने छ । फागुनसम्म तिला नदीमा बेलिब्रिज जोडिसक्ने सम्भावना छ ।