• १७ मंसिर २०८१, सोमबार

‘मिडिया, महिला र म’ लोकार्पण

blog

काठमाडौँ, असोज २७ गते । पत्रकार अमृता लम्सालको ‘मिडिया, महिला र म’ पुस्तकको लोकार्पण गरिएको छ । अक्षर क्रियसनद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार लम्सालले आफ्नो पत्रकारिताको यात्रा र नेपालमा महिला समानताको मुद्दालाई स्थापित गराउन विविध माध्यम र भूमिकामा रहेर गर्नुभएको सङ्घर्षबारे लेख्नुभएको  छ । 

 प्राडा सुचिता प्याकुरेलले  पुस्तकमा महिलाप्रति राखिने पुरातन सोचमा परिवर्तनका लागि राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा गरिएका आन्दोलनका सम्बन्धमा महिलालाई होच्याउन बनाइएका नेपाली उखान, पितृसत्तात्मक प्रवृत्तिलगायतसँग गरिएको सङ्घर्षपूर्ण यथार्थपरक लेखले हरेक च्याप्टर चाखलाग्दो रहेको बताउनुभयो । 

उहाँले लैङ्गिक समानताको महत्व बुझाउन सफल सिद्धान्त र दर्शनयुक्त यस पुस्तक पाठ्यक्रममा राख्न उपयुक्त हुने सुझावसमेत दिनुभयो । लेखक अमृता लम्सालले थुप्रै अग्रजको सल्लाह र सुझावको पे्ररणाले आफ्नो पेसागत र सामाजिक काम कर्तव्य निर्वाह गर्ने यात्रामा गरिएको अनुभव पाठकलाई हस्तान्तरण गर्न यस पुस्तक लेखेको बताउनुभयो । 

उहाँले दुई वर्ष अगाडिदेखि लेख्न थालेको ‘मिडिया, महिला र म’ पुस्तक प्रकाशन नहुँदै आफूलाई क्यान्सर रोग लागेपछि पुस्तक निकाल्न निकै हतार भएको अनुभव पनि सुनाउनुभयो । यसअघि उहाँको हजुरआमाको कथा पुस्तक प्रकाशन भएको छ । अक्षर क्रियसनका प्रबन्ध निर्देशक डा. अर्चना थापाले यस पुस्तकमार्फत लेखक लम्सालले पाठकलाई महिलाको सशक्त पाटोबारे बुझाउन सफल भएको बताउनुभयो ।

उहाँले अमृता लम्साल जुनसुकै विषयमा निष्पक्ष र सटिक समीक्षा गर्न सक्ने र विचार राख्ने महिला हुन् भन्दै पुस्तकमा समेटिएका अनुभवले महिला पात्र सधैँ पीडित हुँदैनन्, विगतमा झैँ महिलापीडित, हिंसामा परेका, हेपिएको पात्र होइन, आफ्नो क्षमताले सक्षम हुँदै छन् भन्ने उदाहरण पस्कन सफल भएको बताउनुभयो ।