• १७ मंसिर २०८१, सोमबार

‘कर्मा र कुटुम्ब’ कीर्तिपुरमा गुञ्जिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १७ गते । कर्मा ब्यान्ड र कुटुम्ब साङ्गीतिक समूह ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा मङ्सिर २२ गते शनिबार एकसाथ गुञ्जिने भएका छन् । 

कीर्तिपुर नगरपालिकाको प्रवर्धन, आदि ग्रुप प्रालिको व्यवस्थापन तथा प्रवर्धन एकाइ एएसक्युको आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् कन्सर्टको अन्तिम तयारी पूरा भएको व्यवस्थापक समूह एएसक्युका प्रबन्ध निर्देशक आशिष पराजुलीले जानकारी दिनुभयो ।   कन्टर्समा कर्मा ब्यान्डका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले...’, ‘मौनता...’, ‘को हौ तिमी...’ लगायतका दर्जन भाका गुञ्जिने छन् । कर्माका गायक सुरेन्द्रमान सिंहको गहिरो स्वर, फिरोज वज्राचार्य र रिग्जिन लामाको गिटार, अनिल शाक्यको ड्रम्स, ईश्वर घलेको बास, बिप्पु श्रेष्ठको परक्युसनले कन्टर्र्स सफल बन्ने विश्वास व्यवस्थापनले लिएको छ । 

कुटुम्ब समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनालाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउँदै नेपालको साङ्गीतिक सम्पदाको प्रवर्धन गर्दै आएको छ । समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन पस्कनु हुने छ । कर्माको लोक र रकको सशक्त फ्युजन एवं कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुति रहने छ । कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गर्दै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता  कार्यव्रmम पनि प्रस्तुत गरिने प्रवर्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ ।