• १७ मंसिर २०८१, सोमबार

सद्भावका लागि गोलमेच बैठक

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, मङ्सिर १७ गते । सबै धर्मको सम्मानले धार्मिक सद्भाव कायम हुने भएकाले सबैले धार्मिक सहिष्णुताका लागि आआफ्ना तर्फबाट काम गर्ने सामूहिक प्रतिबद्धता गरिएको छ । सामाजिक सद्भावका लागि नेपालगन्जमा आयोजना गरिएको गोलमेच बैठकका सहभागीले सामूहिक रूपमा सो प्रतिबद्धता गरेका हुन् । 

नेपालगन्ज उपमहानगरका विभिन्न सरोकारवाला सहभागी गोलमेच बैठकमा धार्मिक सद्भावका सवालमा भएको छलफलपश्चात् धार्मिक सद्भावका विषयमा सबै धर्मलाई सम्मानको सन्देश प्रवाहका लागि सक्रिय रहन आग्रह गरिएको छ ।

 सामाजिक सद्भावमा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्र्दै सामाजिक सद्भाव झल्किने सन्देश सामाजिक सञ्जालमार्फत बाहिर ल्याउने, सद्भावका विषयमा अभिभावक सचेतनाका लागि आआफ्ना तर्फबाट काम गर्ने र धार्मिक क्षेत्रलाई अपाङ्गतामैत्री बनाउन पहल गर्ने प्रतिबद्धता गरिएको थियो । बैठकमा बोल्दै वागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धार्मिक सद्भावले समाज र राष्ट्रलाई बलियो बनाउने जनाउँदै सबैले आआफ्ना तर्फबाट धार्मिक सद्भावको काम गर्न अनुरोध गर्नुभयो । 

कार्यक्रममा बोल्दै मुस्लिम अगुवा मौलाना जियाउल मुस्तफा नुरानीले हरेक धर्मले एकअर्काको सम्मान र एकअर्कालाई सहयोग गर्ने शिक्षा दिएको बताउनुभयो । उहाँले नेपालगन्जको सद्भाव देशभरि नै नमुना भएको पनि बताउनुभयो ।