तानसेन समाचारदाता
तानसेन, मङ्सिर १७ गते । पाल्पा अस्पतालको सेवा सुधार हुँदै गएको यहाँ आउने बिरामीले बताएका छन् । विगतमा भन्दा अस्पतालले दिने सेवामा बिस्तारै सुधार हुँदै गएको दैनिक सेवा दिन आउने बिरामी तथा आफन्तले बताएका छन् । अस्पतालले दिने सेवा विगतको तुलनामा सुधार हुँदै गएको सेवाग्राहीको भनाइ छ । एक वर्षअघिसम्म अस्पतालले दीर्घरोगीलाई १५ दिनको मात्र औषधी दिँदै आएकोमा अहिले तीन महिनासम्मका लागि औषधी दिन थालेको छ । यसले दीर्घरोगी ज्येष्ठ नागरिकलाई अस्पतालमा लाइन बस्न नपर्ने भएको तानसेन–१ का स्थानीय बासिन्दा धातानन्द शर्मा गैरेले बताउनुभयो ।
आफू उच्च रक्तचापको बिरामी भएकामा अहिले अस्पतालले तीन महिनाका लागि औषधी दिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । दीर्घरोगीले तीन महिनाको एकै पटकमा औषधी पाउँदा अस्पतालमा बस्नुपर्ने लाइन र अन्य झन्झटबाट आफू जस्ता बिरामीलाई सहज भएको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ ।
गत वर्ष अस्पतालले एक वर्षमा ९८ हजार बिरामीलाई विभिन्न सेवा दिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट लोकरत्ना ज्ञवालीले बताउनुभयो । अस्पतालमा हाल आठ जना चिकित्सक, ७७ जना स्वास्थ्यकर्मीसहित अन्य कर्मचारीले बिरामीलाई सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो ।