• १७ मंसिर २०८१, सोमबार

कथा प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता बढाएको छ : सञ्चारमन्त्री गुरुङ

blog

बाह्रखरी कथा प्रतियोगिता पुस्तक सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर: सागर बस्नेत

काठमाडौँ, मङ्सिर १६ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताले प्रतिस्पर्धीको क्षमता र अभिव्यक्तिको स्तरलाई बढाएको बताउनुभएको छ। बाह्रखरी कथा प्रतियोगिताको विजेता सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यस्तो बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘‘यो प्रतियोगिताले सम्पूर्ण प्रतिस्पर्धीको क्षमता र अभिव्यक्तिको स्तरलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग पुर्‍याइरहेको छ।’’

उहाँले कथाले मुलुकमा भएका परिवर्तन, नेपालका ग्रामीण क्षेत्रमा भएका सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको उजागर राम्रोसँग गर्ने उल्लेख गर्नुभयो।‘‘यस वर्ष पनि देशका विभिन्न स्थान र विदेशबाट गरी ९३७ कथा प्राप्त भएको र त्यसमध्येबाट ५२ वटा कथा आन्तरिक निर्णायक मण्डलले छनोट निर्णायक मण्डललाई हस्तान्तरण गरेको जानकारी मैले पाएँ’’, उहाँले भन्नुभयो, ‘‘बाह्य निर्णायक मण्डलले लोकसेवाको जस्तै चेकजाँच गरेर, कथाकारको नाम र शीर्षक गोप्य राखेर निर्णायक मण्डललाई कथामात्रै पठाइएको रहेछ।यस्तो निष्पक्ष ढङ्गले चरणवद्धरुपमा गरिएको प्रक्रियाबाट छनोट हुनुभएका सम्पूर्ण कथाकार आज सम्मानित भइसक्नुभएको छ ।’’ 


प्रतियोगितामा भाग लिएर आफ्नो सिर्जनशीलता प्रदान गर्ने साहित्यकारले नेपालको साहित्यको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ उहाँको विश्वास छ।‘‘यो प्रतियोगिता नेपालका परम्परागत साहित्यको निरन्तरतामात्रै नभएर कला संस्कृतिको जगेर्नामा गरिएको महत्त्वपूर्ण पाटो पनि हो’’, उहाँले भन्नुभयो।

उहाँले साहित्य मुलुकको आत्मा भएको भन्दै यसलाई कला र संस्कृतिलाई समेट्दै अघि बढेको बताउनुभएको छ।‘‘साहित्य मुलुकको आत्मा हो।साहित्यले हाम्रो समाजका विभिन्न पक्षलाई उजागर गरेर चिन्तन र विचारसहित तपाईँ हामीमाझ ल्याइरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘बाह्रखरी मिडियाले गरेको यो प्रतियोगिताले पनि नेपालका जुनसुकै क्षेत्रमा रहेका कला संस्कृतिलाई समेट्दै अघि बढेको छ भन्ने विश्वास मलाई छ ।’’

उहाँले राज्यका विभिन्न निकायले गर्नुपर्ने काम एउटा मिडियाले गरेको भन्दै यसको प्रशंसा गर्नुभयो।