• ३ असार २०८२, मङ्गलबार

बाह्रखरी कथा प्रतियोगिता ‘माग्युद् खोना’ प्रथम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १७ गते । यस वर्षको डिसहोम १२ खरी कथालेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम बनेको छ । उहाँले सम्मानपत्रसहित एक लाख पुरस्कार जित्नुभएको छ । बाह्रखरी मिडियाले आइतबार ‘डिसहोम १२ खरी कथा प्रतियोगिता–२०८१’ को नतिजा सार्वजनिक गर्दै उत्कृष्ट २५ कथाको नाम पनि घोषणा गरेको छ । यस्तै कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ ले दोस्रो पुरस्कार जितेको छ ।  उहाँलाई सम्मानपत्रसहित ६० हजार रुपियाँ प्रदान गरियो । कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ ले तेस्रो पुरस्कार प्राप्त गरेको छ । उहाँलाई सम्मानपत्रसहित ४० हजार प्रदान गरिएको छ । 

उत्कृष्ट २५ कथाकारमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जितबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेङ्गा, देवेन्द्र खापुङ, धु्रव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदीप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ रहनुभएको छ । कार्यक्रममा छैटौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथामध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरियो ।

यस वर्ष नेपालसहित भारतका मुम्बई, असम, दार्जिलिङ, मणिपुर, गुवाहाटी तथा चीन, संयुक्त अरब इमिरेट्स (युएई), अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्डलगायत देशमा बसोबास गर्ने नेपालीभाषी कथाकारले सहभागिता जनाएका थिए ।