• १७ मंसिर २०८१, सोमबार

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

blog

पुरस्कार ग्रहण गर्दै साहित्यकार दीपक समीप । तस्बिर : रमेश पौडेल

रमेश पौडेल
पोखरा, मङ्सिर १६ गते ।
 साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित हुनुभएको छ । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पुर्‍याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

शनिबार पोखरामा आयोजित एक कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्दै विश्व साहित्यमै लोकप्रिय भएर पनि आख्यानका क्षेत्रमा लाग्ने व्यक्तिको कमी भएको बताउनुभयो ।

उहाँले आख्यानका क्षेत्रमा दिइने सम्मान र पुरस्कारको समेत अभाव भएको समयमा लमजुङ–पोखरा सम्पर्क समितिले आख्यानका क्षेत्रमा लाग्नेहरूका लागि पुरस्कार सञ्चालन गर्नु प्रशंसनीय भएको धारणा व्यक्त गर्नुभयो  ।

साहित्यकार समीपले पुरस्कारले आफूलाई आख्यानका क्षेत्रमा थप मिहिनेत गर्ने प्रेरणा मिलेको बताउनुभयो । समीपका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह, २०६२), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह, २०७८) र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह, २०८०) प्रकाशित छन् ।

लमजुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार संस्थापक प्रेमकुमारी गुरुङले आफू पनि साहित्यमा रुचि राख्ने व्यक्ति भएकाले साहित्यकारलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मनसायले पुरस्कार स्थापना गरेको बताउनुभयो ।

उहाँले समय क्रममा पुरस्कारको अक्षयकोषमा रकम थप्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरी सदस्य रहेको छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको थियो ।