• १६ मंसिर २०८१, आइतबार

रुक्मणिराज स्मृति दिवसमा सम्मान तथा कृति विमोचन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १६ गते । रुक्मणिराज शिवाकोटी स्मारक कोष र ज्ञानगुन साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा साहित्य र पत्रकारिता साधकलाई सम्मान तथा १५ कृतिको विमोचन गरिएको छ । रुक्मणिराज शिवाकोटीको तेस्रो स्मृति दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । साहित्यकार पुष्कर लोहनी, पत्रकारिता–सम्मानबाट पत्रकार गोपाल थपलिया, आध्यात्मिक सम्मानबाट शिवप्रसाद ढकाल, गौरवशाली बन्धु सम्मानबाट डा. गोपाल शिवाकोटी (मरणोपरान्त), गौरवशाली चेलि–सम्मानबाट डा. गीता खरेल शिवाकोटी, न्याय स्रष्टा सम्मानबाट डिल्लीराज आचार्य, विज्ञानका कुरा स्रष्टा सम्मानबाट प्राडा मुकेशकुमार चालिसे, सस्मरण स्रष्टा सम्मानबाट विजयराज आचार्य, साहित्यिक पत्रकारिता सम्मानबाट श्रीओम श्रेष्ठ रोदनलाई सम्मान गरिएको थियो । कार्यक्रममा १५ कृतिको विमोचन पनि गरिएको थियो । विमोचित कृतिमा विज्ञानका कुरा अन्तर्गत प्राणीशास्त्री डा. मुकेशकुमार चालिसे, शान्तदास स्मृति, शान्तदासका केही निबन्ध, विजयराज आचार्य, डा. गोपाल शिवाकोटी, डा. महेशराज पन्त, पुस्कर लोहनी, गोपाल थपलिया, दीपक जङ्गम, शिवप्रसाद ढकाल, डा. गीता खरेल शिवाकोटी डिल्लीराज आचार्यलगायत समाजसेवी रुक्मणिराज शिवाकोटी स्मृति ग्रन्थ विमोचन गरिएको थियो ।

कार्यक्रममा पूर्वकुलपति केके कर्माचार्यले समग्र सामाजिक र साहित्यिक विधामा संयोजन गरेर दर्जनौँ प्रकाशन र सम्मानको परम्पराले हाम्रो समाजको बृहत्तर विकासमा सघाउ पु¥याउने बताउनुभयो । उहाँले  सत्कार्य भएको र गरिमामय व्यक्तित्वहरू उपस्थित सभामा आमन्त्रण गरेर भाग लिने मौका पाएकोमा प्रशन्नता व्यक्त  गर्नुभएको थियो । त्यस्तै प्रा. सुरेशराज चालिसेले प्राडा चालिसेको लेखन, अनुसन्धान र जीवविज्ञानको कामले संसारमा नेपाल चिनाउन मद्दत पुगेकोमा नाताले नजिकको नभए पनि अब गर्वसाथ भाइ भन्न रुचाउँछु भनि प्रसन्नता व्यक्त गर्नुभयो । कार्यक्रममा कोषका संस्थापक अध्यक्ष शेषराज शिवाकोटीले एकमना परिश्रम र बिनापूर्वाग्रह नेपाली साहित्यको उत्थान र ओझेलमा परेका स्रष्टाहरूको समेत सामूहिक पहिचान तथा चिरस्थाई बनाउने प्रयासको प्रशंसा गर्नुभएको थियो । 

कार्यक्रममा ज्येष्ठ नागरिक अभियन्ता तथा हास्य व्यङ्ग्यकार कृष्णमुरारी गौतम, दर्शन अध्येता गोपीरमण उपाध्याय, वास्तुशास्त्रविज्ञ प्राडा मोहन खनाल, प्रा. मोहन सिटौला, प्राडा मोहन पन्थी, पूर्वसभासद जनक गजुरेल, बुढ्यौली साहित्य समाजका अगुवा आरसी रिजाल, शिक्षाविद् तुलसी सायमी, सञ्चारविज्ञ गोविन्द पोखरेललगायतको उपस्थिति रहेको थियो ।