काठमाडौं, असोज २६ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी भइ कोशी प्रदेश सरकार गठनमा सहमतिको प्रयास भएको छ ।
सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आज अपरान्ह ५ बजेसम्म धुम्बाराहीमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेसले सर्वसम्मत उम्मेदवार दिए माओवादी पछि हट्ने प्रस्ताव राख्नुभएको जानकारी दिनुभयो ।
उहाँले गठबन्ध्नलाई निरन्तरता दिएर अघि बढ्ने र कोशी प्रदेश मध्यावधि हुनबाट जोगाउन फराकिलो रुपमा छलफल भएको जानकारी दिनुभयो ।
विश्वकर्माले भन्नुभयो, “सभापति शेरबहादुरजीले शेखरजी नाम दिनुस् भन्नुभयो तर उहाँले अर्को नाम दिन तयार हुनुभएन । दोस्रो विकल्प गठबन्ध्नबाट प्रस्तुत गरेका उम्मेदवारहरु जो हुनुहुन्छ यसमा थप छलफल गर्ने दुवै विकल्पमा शेखर कोइरालाले असहमति जनाउनुभयो ।”
उहाँका अनुसार गठबन्धनभित्रैबाट सरकार बनाउन अहोरात्र प्रयास जारी राख्न भोलि थप छलफल हुनेछ ।