• ८ जेठ २०८१, मङ्गलबार

नारायणघाट–बुटबल सडकखण्ड

यसपालिको दसैँ–तिहारमा पनि यात्रुलाई धुलोमै यात्रा

blog

नारायणघाट–बुटबल सडकखण्डको सडक । तस्बिर : बोमलाल गिरी

नवलपुर, असोज २३ गते । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा यात्रा गर्ने यात्रुले यस पटकको दसैँ, तिहारलगायतका चाडपर्वमा पनि धुलो र खाल्डाखुल्डी भएको सडकको यात्रा गर्नुपर्ने भएको छ । 

सडक विस्तारको कामले गति नलिएपछि यो पटकको चाडपर्वमा धुलो र खाल्डाखुल्डी भएको सडकमा यात्रा गर्नुपर्ने बाध्यता हुनेभएको हो । सडकखण्डको गैँडाकोट–दाउन्ने भागमा अहिलेसम्म ४१.४ प्रतिशत काम सम्पन्न भएको आयोजनाको पूर्वी खण्डका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिनुभयो । 

उहाँका अनुसार असोज १५ गतेसम्म ४१.१७ प्रतिशत सडकको भौतिक प्रगति भएको थियो । पूर्वीखण्डमा ६५ किलोमिटरमध्ये १६ किलोमिटर बाटो कालोपत्रे भएको छ । 

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरेको थियो । 


गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटरलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा बाटोको शिलान्यास गरिएको थियो । साढे चार वर्षको अवधिमा पनि बाटो विस्तारको कामले सोचेअनुसार गति लिन नसकेपछि यो बिचमा दुई पटक म्याद थपिएको छ । 

पहिलो पटक एक वर्ष म्याद थपिँदा पनि काम सम्पन्न हुन नसकेपछि पछिल्लो पटक भदौ ११ गतेदेखि लागू हुनेगरी ३३० दिनको म्याद थप भएको छ । पहिलो पटक म्याद थपिदा १८ प्रतिशत काम सम्पन्न भएको थियो । दोस्रो पटक थपिदा ३८ प्रतिशत काम सकिएको आयोजनाको भनाइ छ । 

थपिएको एक महिनाको अवधिमा ३ प्रतिशतभन्दा बढी काम भएको आयोजना प्रमुख झाले बताउनुभयो । नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालयले भने सोचेअनुसार कामले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले आयोजना प्रमुख, निर्माण कम्पनी चाइना स्टेटका प्रमुखलगायतलाई केही दिनअघि बोलाएर सडक विस्तारको कामलाई तीव्रता दिन आग्रह गर्नुभएको थियो । 

सडक विस्तारको काम नभए पनि चाडपर्वको समयमा खाल्डाखुल्डी पुरेर यात्रुलाई सहज यात्राका लागि व्यवस्था गर्न निर्देशन दिएको प्रजिअ श्रेष्ठले बताउनुभयो । तर पूर्वीखण्डको आयोजना प्रमुख आशिष् थापाले भने चाडपर्व र मौसमका कारण दसैँ–तिहार अघि महत्त्वपूर्ण कामले गति लिन नसक्ने बताउनुभयो । 

गोरखापत्रसँग कुरा गर्दै थापाले भन्नुभयो, ‘चाडपर्वको मौसम सुरु भइसकेको र मौसम पूर्वानुमान महाशाखाले पनि दसैँसम्म पानी पर्ने अनुमान गरेको छ, त्यो अवधिमा कालोपत्रे गर्नेलगायतका मुख्य काम हुँदैन, पर्व सकिएपछि र मौसम बाहिरिएपछि कामले गति लिन्छ ।’

उहाँका अनुसार अहिले खाल्डाखुल्डी पुर्ने, वाल लगाउने, नाली बनाउने, सब्बे निर्माण गर्ने, नियमित मर्मतसम्भार गर्नेलगायतका स–साना काम मात्र भइरहेका छन् । आयोजनाका अनुसार पूर्वीखण्डमा भएका साना पुलको काम सकिएको छ भने १२ वटा ठुला पुलमध्ये ११ वटाको सबस्ट्रक्चरको काम पनि सकिएको छ ।


सडक विस्तार आयोजनाका अनुसार पूर्वीखण्डमा कामदार प्राविधिक गरेर दैनिक ५ सय ९५ जनाले काम गरिरहेका छन् । त्यसका लागि १३ वटा एक्स्काभेटर, ११ वटा लोडर, ७ वटा ग्रेडर, ४ वटा क्रेन, टिप्पर २८ वटा र १० वटा पानी बोक्ने ट्याङ्कीले नियमित काम गरिरहेको प्रोजेक्ट म्यानेजर झाले बताउनुभयो । 

सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्नेगरी एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा सडकको विस्तार भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ । बाँकी नेपाल सरकारकै लगानी रहने आयोजनाले जनाएको छ । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।