काठमाडौं, असोज २३ गते । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मङ्गलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
सरकारलाई समितिको तर्फबाट निर्देशन दिनुहुँदै समिति सभापति राजकिशोर यादवले घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवम् सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिनुभयो ।
उहाँले घटनाका पीडित एवम् पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्तीका लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिनुभयो । समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आङ्कलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपालीहरूको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ ।
उहाँले भन्नुभयो, ‘‘इजरायलमा भएको अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवम् सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवम् पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्तीका लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिनलाई यो समितिले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्छ । साथै भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आङ्कलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपालीहरूको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न र ती निकायहरूलाई स्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्दछ ।’’
समितिले विदेशस्थित कूटनीतिक नियोगहरूलाई स्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।