• २३ वैशाख २०८१, आइतबार

सडकमा सकस

blog

छिन्चु समाचारदाता

सुर्खेत, असोज २३ गते । वीरेन्द्रनगर सुर्खेतका प्रायः सडक अपाङ्गता भएका व्यक्तिलाई हिँडडुल गर्न सहज छैनन् । मङ्गलगढी–गणेशचोक मुख्य सडकमा दायाँबायाँ जाने सडक अपाङ्गतामैत्री छैनन् । मुख्य सडकभन्दा अग्लो तहमा रहेका दायाँबायाँका साइड सडकमा अपाङ्गता भएका व्यक्तिलाई हिँडेरै जानसमेत मुस्किल भएको छ । 

उक्त सडक मात्र हैन वीरेन्द्रनगरका कुनै पनि सडक अपाङ्गतामैत्री छैनन् । अप्ठ्यारो खालको सडक संरचना र खाल्डाखुल्डीले अपाङ्गता नभएका व्यक्तिलाई समेत यात्रामा सकस भएको छ ।

वीरेन्द्रनगरका धर्मराज रावल अपाङ्गता भएका व्यक्तिका लागि सडकमा लड्ने, खाल्डोमा खस्ने, चोटपटक लाग्ने कुरा त सामान्य जस्तै भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “म दैनिकजसो बजार निस्किन्छु तर वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रकै दायाँबायाँ सडकमा तीनपाङ्ग्रे स्कुटर चढ्दिनँ ।”

सडक व्यवस्थित बनाउन ध्यानाकर्षण गराए पनि सम्बन्धित निकायले सुनुवाइ नगरेको दुःखेसो उहाँको छ । पहुँचयुक्त भौतिक पूर्वाधार विकासमा अनविज्ञ बन्ने सरकार, समाज र अमैत्रीपूर्ण संरचनाले आफूलाई अपहेलित गरेको वीरेन्द्रनगरका तुलसी बुढाक्षत्रीले बताउनुभयो । 

सडकमा सहज यात्रासमेत गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । जुम्ला तातोपानीकी रामलक्ष्मी जैशीले पनि सेतो छडी नभएकालाई सडक पार गर्नै सकस हुने गरेको बताउनुभयो । 

कोही कसैलाई सहयोग माग्दा उल्टै कराएर तर्किने गरेको पीडा पाएको उहाँको गुनासो छ । सडकमा सुरक्षित यात्रा गर्न अन्य व्यक्तिको सहयोग लिनैपर्ने नियति सडकको दुरवस्थाले गरेको भनाइ राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माको छ । 

वीरेन्द्रनगरमा रिङरोड निर्माण कार्य जारी छ तर रिङरोडसमेत अपाङ्गतामैत्री बनाउन प्रदेश सरकार र नगरपालिका चुकेको देखिन्छ । डिपिआरमै अपाङ्गतामैत्री सडकको डिजाइन नभएकाले ठेकेदारले पनि सम्झौता अनुसार काम गरेको देखिन्छ । 

पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार यो सडक निर्माणका लागि १२ करोड ६४ लाख खर्च भएको छ । डिपिआरमै अपाङ्गतामैत्रीको डिजाइन छैन । संशोधन गरी बजेट छुट्याएर अपाङ्गतामैत्री सडक बनाउने तयारीमा रहेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक रामशरण आचार्यले बताउनुभयो । 

“सम्झौता अनुसार ठेकेदारलाई पनि तत्काल काम गर्नुपर्ने भएकाले र समय पनि छोटो भएकाले अपाङ्गमैत्री बनेन, अब आएको गुनासोलाई सम्बोधन गर्छौं,” उहाँले भन्नुभयो, “अब बन्ने सबै सडक अपाङ्गतामैत्री डिजाइनमा बन्ने छन् ।”