• १२ साउन २०८१, शनिबार

युवा पुस्ताले धानेको रङ्गमञ्च

blog

काठमाडौँ, असोज २३ गते । पछिल्लो समय नेपाली रङ्गमञ्चको गतिविधि बढिरहेको छ । राजधानीका प्रायः सबै नाटकघरका साथै राजधानीबाहिर पनि नियमित नाटक मञ्चन हुन थालेका छन् । त्यसमाथि रङ्गमञ्चमा आकर्षित हुने युवाको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । 

रङ्गमञ्चमा आएकामध्ये केही युवाको आसलाग्दो काम र सक्रियताले नयाँ पुस्ताले रङ्गमञ्चलाई पुरानै अवस्थामा सक्रिय बनाउने आशा गर्न थालिएको छ । केही समययता पुराना नाट्य संस्थाहरू पुनर्गठन हुँदै सक्रिय  छन् । ती संस्थाको सक्रियतासँगै नयाँ पुस्ता पनि 

बढिरहेका छन् । केही चुनौतीसँगै रङ्गमञ्चमा राम्रो सम्भावना देखिएको छ । त्यसलाई व्यावसायिक र व्यवस्थित गरेर अगाडि बढ्न सके भविष्य राम्रो रहेको रङ्गकर्मीको भनाइ छ । 

अहिले नेपाली रङ्गमञ्चमा दर्शकले थिएटरमा महिनैपिच्छे नयाँ नयाँ नाटक हेर्न पाइरहेका छन् । युवा रङ्गकर्मीले भाषा, शरीर, मनोविज्ञान, समाज र तत्कालीन समयलाई नयाँ शैलीमा नाटक पस्किरहेका छन् । आकाङ्क्षा कार्की, किरण चाम्लिङ राई, इँगिहोपो कोँइच सुनुवार, रेनुनाथ योगी, सङ्गीता थापा, सुदीप खतिवडा, श्रवण रानामगर, विकास जोशी, सवीर चुरौटे, सविन कट्टेल, बरात लिम्बू, सुदाम सिके, झकेन्द्र बिसी, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, ज्याक बराल, सङ्गीता उराँव, स्मारिक फुयाँललगायतका उम्दा  रङ्गकर्मीले अहिले रङ्गमञ्चको उचाइ बढाउनमा योगदान दिएका छन् । 

रङ्गकर्मी राजन खतिवडा भन्नुहुन्छ, “रङ्गमञ्चमा युवाले देखाएको जाँगरले रङ्गकर्र्मीलाई थप उत्साहित बनाएको छ ।” अहिलेको रङ्गमञ्चलाई युवाले धानेको उहाँको भनाइ छ । युवा पुस्ता नाटक निर्देशनमा पनि उत्तिकै अग्रसर हुन थालेकाले रङ्गमञ्चको पढाइ गर्ने पनि बढ्दै गएको खतिवडा बताउनुहुन्छ । अशान्त शर्मा भन्नुहुन्छ, “पछिल्लो समय रङ्गमञ्चमा दर्शकको उपस्थिति बाक्लिएको छ, थिएटरले दर्शकलाई प्रत्यक्ष मज्जा दिन्छ, युवा पुस्तालाई मन परेको कुरा पनि त्यही हो ।” सुरुवाती दिनमा दर्शकलाई थिएटरसम्म तान्न ठुलै मेहनत गर्नु परेको स्मरण गर्दै शर्मा भन्नुहुन्छ, “युवा र दर्शकले बल्ल थिएटर बुझ्दै छन् । नाटक हेर्न आउने पनि युवा पुस्ता नै बढी छ ।”

समाजका कुरीति र बेथितिविरुद्ध सचेतना फैलाउने चाहे त्यो सडक नाटक होस् वा समाज रूपान्तरणका विषयवस्तु दर्शाउने नाटक, यी दुवैमा युवा पुस्ताको विशेष योगदान छ । नाट्य विधाको फराकिलो दायरामा पछिल्लो समय रङ्गमञ्चले युवालाई आकर्षित गरेको छ । रङ्गमञ्चका युवाले समाजलाई डो¥याउने खँदिलो विषयवस्तु पस्किरहेका छन् ।