काठमाडौँ, असोज २२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपतपछि बचत भएको विद्युत मात्र निर्यात गर्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री बस्नेतले बचत भएको विद्युतको व्यापार कसरी हुनुपर्छ भनेर मार्गचित्र र कार्ययोजना तयार गरेका अवगत गराउनुभयो ।
साथै उहाँले कार्ययोजनामा लगानी, उत्पादन, वितरण र व्यवस्थापनका प्रावधान समेटिएको बताउनुभयो । उक्त विधेयक ऊर्जाको विकासका साथै मुलुकको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण हुने बताउँदै ऊर्जामन्त्रीले विधेयकमा ऊर्जा विकासका साथै विद्युत उत्पादन, पूर्वाधार क्षमतालगायत विषय समेटिएका स्पष्ट गर्नुभयो ।
उहाँले विद्युत क्षेत्रमा आवश्यक सुधारका लागि कानुन बनाउनु परेको बताउनुभयो । वर्षा र सुक्खा याममा हुने विद्युत उत्पादन र आपूर्तिको असन्तुलन घटाउन जलाशययुक्त आयोजनालाई प्रोत्साहन र आन्तरिक खपतको रणनीति बनाउन मन्त्रालयले काम गरिरहेको मन्त्री बस्नेतले बताउनुभयो ।
साथै उहाँले नवीकरणीय ऊर्जाका लागि बेग्लै विधेयक मस्यौदा तयार गरिएको जानकारी दिनुभयो । बैठकले ‘विद्युत विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २५ गते दिउँसो १ बजे बस्ने छ । रासस