• २६ वैशाख २०८२, शुक्रबार

विद्यालय शिक्षा विधेयक संशोधनका लागि दलहरूसँग छलफल गर्ने माओवादीको निर्णय

blog

फाइल तस्विर

काठमाडौँ, असोज २२ गते । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले प्रतिनिधिसभामा प्रक्रियामा रहेका विद्यालय शिक्षा विधेयक, २०८० संशोधनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले सत्ता गठबन्धनभित्र उक्त विधेयकमा छलफल गरेर संशोधन गर्ने निर्णय गरेको हो । बैठकले सो विधेयकमाथि संशोधन राख्ने समयावधिभित्र सबै सांसदले आ–आफ्नो ठाउँबाट पनि संशोधन प्रस्ताव दर्ता गर्न पाउने निर्णय गरेको पार्टीका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

उक्त विधेयकमाथि संसदीय समितिमा दफावार छलफलका क्रममा सक्रिय भूमिका निर्वाह गरिने बैठकको निर्णय छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै साँझ बोलाउनुभएको सर्वदलीय बैठकमा पनि उक्त विधेयकमाथि संशोधनबारे छलफल हुने उहाँको भनाइ थियो । सर्वदलीय बैठकमा प्रतिनिधिसभामा रहेको सबै दलका प्रमुख सचेतकलाई पनि आमन्त्रण गरिएको छ । 

“सर्वदलीय बैठकको निचोडका आधारमा सत्ता गठबन्धनसँग पनि छलफल गरेर संशोधन राखिने  निर्णय भएको छ, संशोधनका लागि सीमित समय तोकिएको छ, सांसदहरूले पनि आ-आफ्नो ठाउँबाट संशोधन दर्ता गर्ने बैठकको निष्कर्ष छ”, मुख्य सचेतक पाण्डेले भन्नुभयो । 

बैठकमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटरेसको आसन्न नेपाल भ्रमण, संसदमा सम्बोधनलगायत विषयमा पनि छलफल भएको थियो । महासचिव गुटरेसले यही असोज २७ गते शनिबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुने कार्यक्रम छ । दलको बैठकले संसद्को दोस्रो अधिवेशनको अन्त्य पछि नेता तथा सांसदहरू आ-आफ्नो कार्यक्षेत्रमा फर्केर जनतासँग अन्तरक्रिया गर्ने, सरकारका कामबारे जनतालाई सुसूचित गर्ने तथा जनताको प्रतिक्रिया लिएर सदन तथा सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । 

बैठकले इजरायलमा भएको आक्रमणबाट निधन भएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो । बैठकले घाइतेको उपचार, मृतकको शव नेपाल ल्याउन तथा त्यहाँ रहेका नागरिकको उद्धार एवम् स्वदेश फिर्तीका सम्बन्धमा छिटो पहल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उहाँको भनाइ थियो । रासस