• २६ वैशाख २०८१, बुधबार

जापानको आइची नागोयामा भेट्ने बाचा गर्दै सकियो १९औँ एसियाड

blog

एसियाड समापन समारोहको रोचक प्रस्तुती ।

हाङझाउ, असोज २१ गते । तीन वर्षपछि जापानको आइची नागोयामा भेट्ने बाचा गर्दै चीनको हाङझाउमा जारी एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद (एसियाड) समापन भएको छ । 

हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा आइतबार साँझ भब्य समारोहबिच एसियाडको समापन गरिएको हो । 


समापन समारोहमा सन् २०२६ मा आयोजना हुने २०औं संस्करण लागि ओलम्पिक काउन्सिल अफ एसियाका एक्टिङ प्रसिडेन्ट राजारणधीर सिंहले जापानको आइचीका गर्भनर हिदेकी ओमुरा र नागोयाका डेपुटी मेयर हिदेओ नाकातालाई ओलम्पिक काउन्सिल अफ एसियाको झण्डा हस्तान्तरण गर्नुभएको थियो । 


१९औँ संस्करकण समापन भएको घोषणा भने चीनका प्रधानमन्त्री लि च्याङले गर्नुभएको थियो । ओसिएका एक्टिङ प्रेसिडेन्ट सिंहले १९औँ एसियाड सफलतापूर्वक सम्पन्न भएको बताउँदै चीन परफेक्ट होस्ट भएको र ओसिएले यो क्षण कहिल्यै नबिर्सने बताउनुभयो । 

‘‘खेलकुदलको शक्ति र एसियन गेम्सको शक्तिले सबैलाई एकजुट बनाएको छ, उहाँले न्नुभयो, ‘‘एसियन गेम्सको भव्य सफलताको लागि चीन सरकार, चीन ओलम्पिक कमिटी र हान्झाउको जनतालाई धेरै धेरै धन्यवाद ।’’

यस्तै चीनिया ओलम्पिक कमिटी तथा हाङझाउ अर्गनाइजिङ कमिटीका अध्यक्ष गाओ जिदानले १९औं एसियाड भव्य रुपमा सफल भएको भन्दै सबैलाई धन्यवाद दिनुभयो । 


समापन समारोहमा एसियाडमा सहभागी ४५ वटै देशका खेलाडी र अफिसियलले मार्चपास गरेका थिए । साथै समापनमा विभिन्न रोचक प्रस्तुती र झाँकी समेत प्रस्तुत गरिएको थियो । 

कोरोना भाईस कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्षपछि आयोजना गरिएको यस एसियाडमार्फत चीनले आफू सुरक्षित र शक्तिशाली भएको सन्देश समेत दिएको छ । चीनले पदक तालिकामा समेत सर्वाधिक दुई सय एक स्वर्ण जित्दै आफ्नो शक्तिलाई कायम राखेको छ । 

आयोजक चीनले उद्घाटन जस्तै समापन समारोहलाई पनि भब्य बनाएको थियो । आयोजनाको हिसावले यस एसियाड अहिलेसम्मकै ठूलो एसियाली खेलकुद प्रतियोगिता हो । खेलाडी सहभागिताको हिसावले यसलाई हालसम्मकै ठूलो एसियाड मानिएको छ । 


४० खेल समावेश यस एसियाडमा १२ हजार चार सय १७ खेलाडीको सहभागिता रहेको थियो । १६ दिनसम्म चलेको एसियाडलाई शब्य र भब्य बनाउन चीनले कुनै कसर बाँकी राखेन । चीनले तेस्रो पटक एसियाड आयोजना गरेको हो । चीनले यसअघि सन् १९९० र २०१० मा एसियाड आयोजना गरेको थियो । 

चीनलाई सर्वाधिक २०१ स्वर्ण 

चीनले एसियाडको एउटै संस्करणमा २०१ स्वर्ण जित्दै सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान समेत बनाएको छ । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस संस्करणमा उल्लेख्य सुधार गरेको हो ।

चीन  सर्वाधिक २०१ स्वर्ण, १११ रजत र ७१ कांस्यहसित कूल ३८३ पदकका साथ तालिकाको शीर्षस्थानमा रह्यो । दोस्रो स्थानमा रहेको जापानले ५२ स्वर्ण ६७ रजत र ६९ कांस्यसहित कूल १८८ पदक जित्यो । दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित कूल १९० पदकका साथ तेस्रो भयो । 

चौथो भएको भारतले पनि इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । भारतले ३८ रजत ४१ कांस्यसहित कूल १०७ पदक जितेको छ । 

नेपाल पदक तालिकामा ३३ औँ 

नेपाल यस पटक कराँतेमा ऐतिहासिक एक रजत र महिला कबड्डीमा एक कांस्य जितेर कूल दुई पदकका साथ तालिकाको ३३औं स्थानमा रह्यो । नेपालका लागि एरिका गुरुङले कराँतेमा रजत दिलाउनुभएको हो । यस पटक एसियाडमा सहभागी ४५ देशमध्ये ४१ दशेले पदक जिते । साउथ एसियाली देश भुटान र माल्दिभ्ससँगै यमन र टिमोर लिस्टेले पदकको खाता खोल्न सकेनन् ।