• १२ मंसिर २०८१, बुधबार

बिपी गान्धी र गान्धीवाद

blog

भारतका महात्मा गान्धीको पूरा नाम मोहनदास कर्मचन्द गान्धी, आफैँमा महान् इतिहास हो । गान्धीले अङ्ग्रेजको दुई शताब्दीको निरङ्कुश शासन सत्तालाई सत्याग्रहको माध्यमद्वारा समाप्त गरी भारतलाई स्वतन्त्र दिने इतिहास रच्नु विश्व इतिहासमै युगीन परिघटना हो । गान्धी दक्षिण अफ्रिकामा वकालत गरिरहेको थियो । त्यहाँ बस्दा उहाँले अफ्रिकी र अङ्ग्रेजहरूद्वारा भारतीयमाथि गरिएका अत्याचारलाई आफ्नै आँखाले देख्नुभयो । यता भारतमा अङ्ग्रेजी शासकद्वारा गरिएका झन् अन्याय र अत्याचारलाई सहन नसकी भारत फर्किने बाध्य हुनुभयो । फलस्वरूप सन् १९१५ मा भारत फर्किनु भई स्वतन्त्रता आन्दोलनमा लाग्नुभयो । 

भारतमा आएपछि गान्धीले ठाउँ ठाउँमा अङ्ग्रेजविरुद्ध सत्याग्रह आन्दोलनमा लाग्न जनतालाई आह्वान गर्न थाले । सन् १९२१ मा गान्धीको नेतृत्वमा ठुलो आन्दोलन हुँदा बिपी कोइराला बनारसको एउटा हरिश्चन्द्र स्कुलको प्राथमिक कक्षामा पढ्दै हुनुहुन्थ्यो । त्यति बेला गान्धीले भद्र अवज्ञा सञ्चालन गर्नुभएको थियो । अवज्ञा गर्न आह्वान गरिएपछि बिपी र मातृकाबाबुले त्यो स्कुलबाट पहिले कक्षा बहिष्कार गरी बाहिर निस्कनुभयो । त्यसपछि अरू विद्यार्थीहरू निस्के । बनारसका अरू स्कुलमा कक्षा बहिष्कार गर्न बिपी र मातृका दाजुभाइ सँगै जानुभयो । साथै, अङ्ग्रेजविरुद्ध आमसभा र जुलुसमा दाजुभाइसँगै सरिक हुन्थे । विद्यार्थीहरूलाई गान्धी आश्रममा लगेर गान्धीवादको बारेमा पठाइन्थ्यो । त्यो आश्रम निकै फराकिलो थियो । त्यहाँ गान्धीवादका अतिरिक्त इतिहास र स्वास्थ्यको विषयमा पनि शिक्षा दिइन्थ्यो भनेर बिपीले लेख्नुभएको छ । गान्धी आश्रममा आचार्य कृपलानी भन्ने शिक्षकले विद्यार्थीहरूलाई गान्धीवाद पठाउनुहुन्थ्यो । 

गान्धीले अङ्ग्रेज विरोधी सत्याग्रह गर्न एक करोड रुपियाँको कोष जुटाउन आह्वान गर्नुभयो । कोषमा जम्मा गर्न एउटा फराकिलो खास्टो सडकमा फैलाइएको थियो । त्यसमा बिपीकी आमा र अन्य नातेदारहरूले आफ्नो गहना फ्याक्दै थिए भन्ने बिपीले आत्मवृत्तान्तमा उल्लेख गर्नुभएको छ । बिपी लेख्नुभएको छ, ‘‘गान्धीजीको भाषण सम्झिन्छु उहाँ धेर बिस्तारै तर प्रभावकारी रूपमा बोल्नुहुन्थ्यो । मानिसहरू उहाँको भनाइ धेरै टाढासम्म पनि राम्ररी सुन्न सक्थे । त्यस आमसभामा अन्य नेता महम्मद अली जिम्न्ना शौकत अलीहरू पनि थिए ।’’ यसरी बिपीले गान्धीको विदेश वस्त्र बहिष्कार, नमक सत्याग्रह जस्ता अभियानमा सरिक भई आन्दोलनमा लाग्नुभएको थियो । 

भारतबाट अङ्ग्रेजको शासन सत्ता समाप्त भइ स्वतन्त्र नहुँदासम्म नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य भई प्रजातन्त्रको स्थापना हुन सक्दैन भनी बिपी सोचाइ थियो । त्यसैले उहाँ पहिला भारतलाई स्वतन्त्रता दिलाउन सक्रिय राजनीतिमा लाग्नुभएको थियो । दिल्लीस्थित नेहरू स्मारक पुस्तकालय तथा सङ्ग्रहालयका प्रमुख डा. हरिदेव शर्माले बनारसमा सन् १९७६ को फेब्रुअरीमा बिपीसँग लिइएको अन्तर्वार्तामा गान्धीजीले कुन प्रकारबाट तपाईंलाई प्रभावित गर्नुभएको थियो भन्ने प्रश्नको जवाफ दिँदै भन्नुभयो, ‘‘म कार्लमाक्र्ससँग गान्धीको तुलना गर्दिन । माक्र्स आफँैमा एउटा विशिष्ट कोटीमा हुनुहुन्थ्यो । त्यस्तै गान्धी पनि एउटा अर्को विशिष्ट कोटीमा हुनुहुन्थ्यो तर बीसौँ शताब्दीका राजनीतिक विचारकमध्ये गान्धीजी नै सबैभन्दा बढी मौलिक विचारक हुनुहुन्थ्यो । मलाई लाग्छ यसबेला माक्र्सभन्दा पनि बढी सान्दर्भिक गान्धी नै हुनुहुन्छ । गान्धीवाद कसरी असफल भयो भन्ने सन्दर्भमा केही वर्ष पहिले मैले एउटा प्रवचन दिएको थिए । त्यसमा मैले गान्धीवादको आलचेना गरेको थिए तर मैले क्रमशः गान्धीसँग एउटा नितान्त नौलो सोच रहेछ भन्ने बोध गर्दै गए । उहाँको सोच लेलिनको भन्दा पनि महान् थियो । अरू कुनै क्रान्तिकारीको भन्दा महान् सोच थियो । मैले माओको सन्दर्भमा धेरै पढेको छैन । म उनलाई पनि उच्च कोटीमा राख्छु । ”

गान्धीको धेरै आलोचना भए । आलोचक मध्ये जयप्रकाश नारायण पनि हुनुहुन्थ्यो तर गान्धीको मृत्युपश्चात् चाहिँ उहाँले नै बढी व्यवहारमा गान्धीवाद प्रयोग गर्न थाल्नुभएको थियो । गान्धीको पुनः मूल्याङ्कन गर्न कसरी गर्नुहुन्छ भन्ने डा.शर्माको प्रश्नको उत्तर दिँदै भन्नुभयो, ‘‘मैले दुई तीन कारणले गान्धीजीको पुनर्मूल्याङ्कन गर्न थालेको हुँ । पहिलो भारत स्वतन्त्र भएपछि यसले पारेको नैतिक र आध्यात्मिक प्रभाव हो । तपाईं हामीलाई प्राप्त भएको आजको वातावरण गान्धीकै उपहार हो । डा. राजेन्द्र प्रसाद, जवाहरलाल नेहरू अरू समकालीन नेताहरू हराउँदै गएको पुस्ता गान्धीवादको प्रत्यक्ष अनुपालक र समर्थन थियो तर विश्वका अरू मुलुकभन्दा भारतको राजनीति राम्रो छैन । यो अझ खराब भइरहेको छ ।’’ 

तसर्थ यो गान्धीवादको असफलता हो त ? के गान्धीवादले भारतीय राजनीतिमा कुनै नैतिक गुण दिएन ? तर जब हामी विकल्प के थियो त भनेर सोच्न थाल्छौँ, समाधान के हुन सक्छ भनेर सोच्न थाल्छौ, तब हामी माक्र्सवादतर्फ हेर्दछौँ । अनि त्यसले पनि धेरै कारगर समाधान दिनसकेको पाउँदैनाँै । दोस्रो औद्योगिकीकरणले उत्पन्न गरेका समस्याले पनि गान्धीको विचारलाई अति सान्दर्भिक बनाएको छ । हाम्रा लागि र अति विकसित राष्ट्रका लागि मात्र होइन, उहाँ सबै राष्ट्रका लागि सान्दर्भिक हुन गएको हो । 

समाज कसरी सङ्गठित हुन्छ ? यो कसरी विकेन्द्रित हुन्छ ? कसरी आवश्यकता पूरा गर्नु पर्छ ? कसरी उद्योगको विकेन्द्रीकरण गर्न सकिन्छ र सम्पत्ति नै सुख र दुःखको एक मात्र र अन्तिम वस्तु होइन भन्ने देखाउन सक्ने अर्को कुनै विचार हामीसँग छैन । अहिले हामी पश्चिमी जगत्ले औद्योगिकीकरणका कारण प्राकृतिक स्रोत विनाश भएको परिस्थिति बिग्रेको, प्रदूषणलगायत समस्या बढेको अनुभव गर्न थालेका छन् । सम्भवतः ऊर्जा र पेट्रोलियम पदार्थको अभावको कारण हामीले आफ्नो आर्थिक नीतिको पुनर्मूल्याङ्कन गर्न बाध्य हुनुपर्ने छ । हामी कस्तो किसिमको समाज निर्माण गर्न चाहन्छौँ हामीसँग अमेरिकी नमुना मात्र छ र जसले पनि अमेरिकी नमुना नै प्रयोग गरिहेको छ । विश्वमा अमेरिकी नमुना मात्र छ र जवाहरलाल नेहरूले पनि त्यही नमुना अपनाए । 

बिपीको संस्मरणमा अमेरिकाले विश्वको छ प्रतिशत जनसङ्ख्याले विश्वको साठी प्रतिशत प्राकृतिक स्रोतको उपयोग गरिरहेको छ । हामी त्यसको स्तरमा कहिले उक्लन सक्दैनौँ । तसर्थ गान्धीको नमुना अपनाउनु पर्छ । उक्त पृष्ठभूमिमा हाल आएर मैले गान्धीजीले दिएको समाधानबारे पुनर्विचार गर्न थालेको छु । गान्धीजीसित म भारतको स्वतन्त्रता आन्दोलनताका नै सम्पर्कमा आएको थिए । उहाँद्वारा गरिएका अङ्ग्रेज विरोधी सबै आन्दोलनमा सहभागी थिए । 

बिपी सम्झनु हुन्छ, ‘‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गर्ने उद्देश्यले डा.राममनोहर लोहियासँग सन् १९४८ को जनवरी २८ का दिन भेट्न गएको थिए । लोहियाले गान्धीजीसित परिचय गराउनु भयो । त्यो राति गान्धीको आश्रममा बसे । गान्धीजीले पहिला म तपाईंलाई सहयोग गर्न सक्दिनँ । जब आफ्नै मानिसले भारतमा मेरो कुरा सुन्दैनन् भने राणाले सुन्लान ? भन्ने आशा कसरी गरौँ ? उहाँ धेरै निराश हुनुहुन्थ्यो ।’’ बिपीले थप्नुनुभएको छ, ‘‘म तपाईंकहाँ कुनै ठुलो सहयोगको आशा लिएर आएको होइन म त तपाईंको नैतिक समर्थन र आशीर्वाद चाहन्छु । अनि गान्धीजीले तपाईंलाई मेरो आशीर्वाद छ । जब मानिसहरूले आफ्नो अधिकारका लागि वा शोषण र दमनविरुद्ध लड्छन् म उनीहरूको साथमा हुन्छु ।’’ 

बिपीका लेख्नुहुन्छ, ‘‘दुर्भाग्यवश त्यस भेटको दुई दिनपछि मात्र गान्धीको हत्या ३० जनवरी १९४८ का दिन भयो ।’’ गान्धीको हत्यापछि बिपी अत्यन्त दुःखित हुनुभयो र नेपालको प्रजातन्त्र आन्दोलनको एक जना ठुलो हितौषीलाई गुमाएको बताउनुभयो । हुन पनि गान्धीको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिकलगायत क्षेत्रको विचार र अचारणसित बिपी निकै प्रभावित हुनुहुन्थ्यो । गान्धीवाद अहिले पनि तेस्रो विश्वका लागि सान्दर्भिक नै छ तर बिपीको विचारलाई आत्मसात् गर्ने राजनीतिका पार्टी नेपाली कांग्रेसलगायतले बिपीको गान्धीवादी चिन्तनलाई के कति सार्थकता दिएको छन्, विस्तृत समीक्षाको विषय हुन सक्छ ।   

Author

रामनारायण देव