• २६ वैशाख २०८२, शुक्रबार

पर्याप्त भूमि र जनशक्ति भएर गरिब रहनु विडम्बना हो : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : अध्यक्षको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १९ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त भूमि र दक्ष जनशक्ति भएको नेपालका युवाहरु विदेशी भूमिमा रोजगार खोज्न जानु देशको लागि विडम्बना भएको बताउनुभएको छ । 

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनको उदघाटनसत्रमा आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । देशको युवा जनशक्तिलाई स्वदेशी भूमिमा परिचालन गर्न नसकेकै कारण मुलुक गरिबीको रेखाभन्दा माथि उठ्न नसकेको उहाँको भनाइ छ । 

“नेपाली युवाहरुको परिश्रम र मेहनतले विदेशी राष्ट्रहरु समृद्ध भइरहेका छन्, हामीले आफ्नो जनशक्तिलाई स्वदेशी भूमिमा काम लगाउन सकेका छैनौं” अध्यक्ष ओलीले भन्नुभयो, “एमालेको अभियान युवालाई स्वदेशमै रोजगार दिने हो, आफ्नै भूमिमा सुन फलाउने हो, त्यसकालागि हाम्रो सिङ्गो पार्टी परिचालित छ ।” उहाँले पार्टी पङ्तिलाई सिर्जनात्मक काममा लाग्न आव्हान गर्नुभयो ।

नेपाललाई प्रकृतिले सबैचिज प्रदान गरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यसको सदुपयोग गर्न नसक्नु नै सबैभन्दा कमजोरी भएको बताउनुभयो । “नेपालमा रहेका हिमाल, पहाड, तराई, जल जंगल, अथाह पानी, जडिबुटी, चट्टान, फलाम तथा खानीजन्य चिजको सही सदुपयोगका लागि युवा शक्ति यही परिश्रम गर्नुपर्छ” उहाँले भन्नुभयो, “हाम्रो देश हामीले नै बनाउने हो, कोही बाह्य व्यक्ति आएर बनाउँदैन, हाम्रा पसिना यही बग्नुपर्छ । हाम्रा युवाहरु यही श्रम गर्नुपर्छ । त्यसको नेतृत्व एमालेका विशाल नेता तथा कार्यकर्ताले गर्नुपर्छ ।”


विश्वलाई ज्ञान सिकाउने ज्ञानको उदभव नेपालमै सिर्जना भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले नेपालीलाई सिर्जनात्मक र बहुआयामीक क्षमतावान बनाएर नेपाल बनाउन सकिने चर्चा गर्नुभयो । समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना एमालेले गरेको बताउनुहुँदै उहाँले हाम्रै पालामा नेपाल समृद्ध बनाउन सबै लाग्नुपर्छ, भन्नुभयो । 

एमाले जनआधारित पार्टी भएकाले जनताको हितमा, देशको हितमा मात्र काम गर्नुपर्छ भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “हामीलाई त्यतिकै बस्न छुट छैन, हाम्रा कार्यकर्ता काम गर्ने दक्ष कार्यकर्ता हुन्, आफ्नो सीप, दक्षता र क्रियाशीलता प्रदर्शन गरेर नेपाललाई बनाउन सकिन्छ ।” एमाले विचार र जनाधार पार्टी भएकाले देशको विकास र समृद्धिको अगुवाइ पनि एमालेले मात्र गर्न सक्ने उहाँले दावी गर्नुभयो ।

कार्यकर्तामा अनुशासन अनिवार्य रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले अनुशासनविना परिवार, समाज, पार्टी र देशको कल्पना गर्न नसकिने बताउनुभयो । संविधानमा सबै कुराको व्याख्या गरेर सम्भव नहुने भन्दै उहाँले अनुशासनले व्यक्ति, परिवार, समूह, समाज, पार्टी र देशलाई नै बाँध्ने काम गर्नेगरेको उहाँले चर्चा गर्नुभयो । पार्टीको नीति, देशको ऐन कानुन, संविधान सबै अनुशासनकै एक रुप भएको उहाँले व्याख्या गर्नुभयो । 

अध्यक्ष ओलीले एमाले उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्व सहमतिका साथ गर्न निर्देशन गर्नुभयो । अरु सबै प्रदेशमा कमिटीहरु प्रतिस्पर्धात्मक रुपले नेतृत्व छनौट गरे पनि उपत्यका विशेष कमिटीले सहमतिको आधारमा नेतृत्व छनौट गेर नमुना काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उपत्यका विशेष प्रदेश कमिटीले मजदुर, युवा, विद्यार्थी, उद्यमीहरुलाई नेतृत्व गर्ने हुनाले यसको विशेष महत्व रहेको भन्नुहुँदै सबै पक्षलाई मिलाएर नयाँ नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । सके सर्वसहमति नसके स्वस्थ प्रतिस्पर्धाबाट सक्षम नेतृत्व छान्न उहाँले आग्रह गर्नुभयो ।

नेपालमा राजनीतिक स्थायित्व नभएकै कारण देशको विकास हुन नसकेको चर्चा गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “आगामी निर्वाचन २०८४ मा एमाले एक्लैले ५१ प्रतिशत मत ल्याएर राजनीतिक स्थायित्व कायम गर्नुपर्छ, अनिमात्र देशको विकास सम्भव छ ।” देशको समृद्धि एमालेकै नेतृत्वमा मात्र सम्भव रहेकाले त्यसअनुरुप काम गर्न उहाँले पार्टी कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो ।

महासचिव शंकर पोखरेलले देशलाई समृद्ध बनाउन युवा पलायन रोक्न अनिवार्य रहेको चर्चा गर्नुहुँदै युवालाई सिर्जनशील काममा लगाउन एमाले पङ्ति सक्रिय हुनुपर्ने बताउनुभयो । परिवर्तनलाई आत्मसाथ गर्न नसकेको एउटा क्षेत्र कर्मचारी क्षेत्र रहेकाले कर्मचारी क्षेत्रलाई समयअनुरुप परिवर्तनउन्मुख बनाउने जिम्मेवारी एमालेका संगठनले गर्नुपर्छ, उहाँले भन्नुभयो । 

पार्टीभित्र अहिलेको समस्या सबैलाई पद पाउनै पर्ने चिन्तन भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “पार्टीभित्रका योग्य र क्षमतावानले नेतृत्व लिनुपर्छ, कामचोर र ठग प्रबृत्तिका व्यक्तिले नेतृत्वका लागि अघि सर्नु हुन्न । को व्यक्ति सही हो भन्ने कुरा पार्टीकै नेता कार्यकर्तालाई जानकारी हुने हुनाले, योग्यलाई अघि सारौं ।”


उहाँले नेतृत्व सकेसम्म सर्वसम्मत चयन गर्न आग्रह गर्नुहुँदै सम्भव नभए प्यानलरहित ढंगले एक्लाएक्लै उम्मेवारी दिन आव्हान गर्नुभयो । पार्टीको नेतृत्वमा आउनु भनेको देश बनाउने नेतृत्व गर्ने जिम्मेवारी पनि हो भन्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “सहमति गर्नु समुन्नत लोकतन्त्र हो, लोकतन्त्रको सही सदुपयोग गर्न सहमति र समन्वयको बाटो तय गर्नुपर्छ ।”

उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रदेश कमिटीको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । विशेष प्रदेश कमिटी चयनका लागि ३०४ जना प्रतिनिधि चयन भएको इन्चार्ज सुजिता शाक्यले जानकारी दिनुभयो । भोलिसाँझसम्म नयाँ नेतृत्व चयन भइसक्ने उहाँले बताउनुभयो ।