• ५ पुस २०८२, शनिबार

पूर्वाधार निर्माण र रोजगारी सिर्जना

शुक्रबार नै निजी क्षेत्रका दुई पहल

blog

निजी क्षेत्रका दुई अग्रणी संस्थाका पहल पूर्वाधार निर्माण र रोजगारी सिर्जनामा केन्द्रित रहेका छन् । त्यसको पुष्टि शक्रबारका दुई घटनाबाट भएको छ । नेपाल उद्योग परिसङ्घ नेपालमा औद्योगिक पूर्वाधार निर्माणमा लाग्न पूर्वाधार विकास बैङ्कसँग सहकार्यमा गएको छ । त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको लगानी खनिज उत्पादनमा लाग्ने जानकारी दिनुभएको छ । 

सिएनआई–निफ्रा सम्झौता 

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ५ गते । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) बिच औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण तथा सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा परिसङ्घका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र निफ्राका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गर्नुभयो ।

समझदारी अनुसार नेपाल सरकारले घोषणा गरेको चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा राखिएको छ भने हेटौँडाको मयुरधाप र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनका लागि सहकार्य हुने छ । सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने घोषणा गरे अनुसार परिसङ्घले औद्योगिक क्षेत्र निर्माणका पहल गरेको हो । 

यो समझदारीसँगै सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिन नेपाल सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिने छ । सो अवसरमा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निफ्रासँगको समझदारी निकै महìवपूर्ण रहेको बताउनुभयो । 

निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले औद्योगिक क्षेत्र निर्माण सम्बन्धमा सिएनआईसँग भएको यो समझदारीलाई निफ्राले प्रस्थानविन्दुका रूपमा लिएको बताउनुभयो । उहाँले परिसङ्घसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी अवधारणामा अगाडि लैजान सकिने बताउनुभयो । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीले सरकारले पिपिपी मोडेलमा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन दिने भनेकाले यो समझदारीले राम्रो सन्देश दिएको बताउनुभयो ।  

निजी क्षेत्र फलाम खानीमा लगानी गर्न इच्छुक 

मध्यविन्दु समाचारदाता

मध्यविन्दु, पुस ५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नवलपुर जिल्लामा रहेको धौवादी फलाम खानीमा निजी क्षेत्रको लगानीमार्फत औद्योगिक विकास र देशको आर्थिक समृद्धिमा योगदान गर्न आफूहरू इच्छुक रहेको बताउनुभएको छ । 

नवलपुर उद्योग वाणिज्य सङ्घको, कावासोतीमा आयोजित ११ औँ साधारण सभा तथा छैटौँ अधिवेशनको उद्घाटनसत्रमा उहाँले स्वदेशी लगानीबाट पनि धेरै ठुला आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन महासङ्घले विभिन्न क्षेत्रमा लगानी गर्न १० अर्ब बराबरको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीमार्फत काम गर्दै आएको बताउनुभयो । 


निजी क्षेत्र यस कम्पनीमार्फत सम्भावना भएका ठाउँमा लगानी गर्न तयार रहेको भन्दै उहाँले नवलपुरको फलाम खानीमा पनि यसै कम्पनीमार्फत काम गर्न सक्ने जिकिर गर्नुभयो । “अहिले नेपालमा लगानीको सम्भावना छैन, नेपालको पुँजीले केही हुँदैन भन्ने नकारात्मक भाष्य निर्माण भएको छ,  यसलाई चिर्नका लागि  निजी क्षेत्र लागि परेको छ,” ढकालले भन्नुभयो । 

अध्यक्ष ढकालले उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासङ्घ सधैँ अग्रसर रहने प्रतिबद्धता जनाउँदै, आर्थिक विकासका लागि निजी क्षेत्रलाई साझेदारका रूपमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो । सदस्य सबैलाई सम्मानसमेत गरेको थियो । अध्यक्ष ढकालले नवलपुर उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष शालिकराम ढकाललगायतका तत्कालीन अन्य पदाधिकारी तथा सदस्यलाई सम्मान गर्नुभयो ।