काठमाडौं, असोज १९ गते । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले पीडित परिवारका सदस्यहरुले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले पीडित परिवार दोषिलाई माफी दिन तयार भएमा राष्ट्रपति समक्ष पुगेर माफि दिन सकिने बताउनुभयो । तर परिवार पनि धम्कि र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औंल्याउँदै उहाँले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने बताउनुभयो ।
महामन्त्री शर्माले नेपालगञ्जका रिगल डन भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैद्यता दिनु नहुने जिकिर गर्नुभयो । उहाँले अदालतले सो निर्णयलाई वैधता दिएमा दण्डहिनता बढेर जाने बताउनुभयो ।
महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारले जिम्मेवारपूर्ण भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रमहरु रोकिने बताउनुभयो । उहाँले संसदमा हुने सांसदहरुको प्रस्तुति पनि परिपक्व, संयम र जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
‘‘सबै क्षेत्रमा आवेग छ । हरेक मान्छेलाई हरेकसँग किन हो किन रिस उठिराखेको छ । हरेक मान्छे हरेक मान्छेसँग असन्तुष्ट छ । हरेकसँग प्रश्न छ । गुनासो छ । तर बडा संयमतापूर्वक, आत्मियतापूर्वक सद्भावलाई कायम राख्नेभन्दा अर्को उपाय छैन । यो एउटा घटनाक्रम भन्दापनि प्रवृत्तिको रुपमा विकास हुनु हुँदैन । यसलाई कसरी हुन्छ समन्वयमा लिनुपर्छ । सरकारले गर्ने गतिविधिहरु जिम्मेवारपूर्ण ढङ्गको भएर आयो, सरकारले गर्ने कर्महरुले नागरिकमा विश्वासहरु सिर्जना गर्न थाल्यो ।,’’ महामन्त्री शर्माले भन्नुभयो, ‘‘संसदमा हुने हाम्रा प्रस्तुतिहरुले परिपक्वता, संयम र जिम्मेवारी बनाउन थाल्यौँ त्यसको प्रभाव समाजमा पर्छ ।’’
महामन्त्री शर्माले राजनीतिकर्मीहरु आफ्नो अभिव्यक्ति राख्ने कुरामा सजग र सचेत हुनुपर्ने बताउनुभयो ।