बर्दीबास समाचारदाता
बर्दीबास, पुस ५ गते । बर्दीबास नगरपालिका–६ स्थित किसान नगरमा सौर्य विद्युत् आयोजनाको शिलान्यास गरिएको छ । टेरा सोल इनर्जी कम्पनी लिमिटेडको करिब एक अर्ब २० करोड रुपियाँको लागतमा निर्माण हुन लागेको उक्त आयोजनाको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार शिलान्यास गर्नुभएको हो ।
किसान नगरक्षेत्रको करिब ४० बिघा क्षेत्रफलमा निर्माण हुने आयोजनामा तीन लाख ३३ हजार सोलार प्यानल जडान गरी २० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो आयोजना मधेश प्रदेशको हालसम्मकै सबैभन्दा महत्वाकाङ्क्षी सौर्य विद्युत् आयोजना भएको बताइएको छ ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री यादवले निजी क्षेत्रको लगानीमा पहिलो पटक निर्माण हुन लागेको यो सौर्य आयोजना मधेश प्रदेशका लागि गौरवको आयोजना भएको बताउनुभयो ।
उहाँले यस आयोजनाले ऊर्जाक्षेत्रमा योगदान पु¥याउनुका साथै मधेशमा लगानी, रोजगारी र आर्थिक सम्भावनाका नयाँ क्षितिज खोल्ने विश्वास व्यक्त गर्नुभयो ।
बर्दीबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले सौर्य विद्युत् आयोजनाले नगरको विकास, निर्माण र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
टेरा सोल इनर्जी कम्पनी लिमिटेडका कार्यकारी प्रमुख पूजासिंह ठकुरीले ८० जना किसानको करिब ४० बिघा क्षेत्रफलमा निर्माण हुने यस आयोजनामा तीन लाख ३३ हजार सोलार प्यानल, ६७ वटा इन्भटर र चार ठुला ट्रान्सफरमरमार्फत उत्पादन हुने २० मेगावाट विद्युत् ढल्केबरस्थित विद्युत् सबस्टेसनमा जोडिने लक्ष्य रहेको जनाउनुभयो ।
उहाँले आगामी छदेखि आठ महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको जानकारी दिँदै यहाँ प्रयोग हुने प्रविधि नेपालमै पहिलो पटक जडान हुन लागेको आधुनिक प्रविधि भएको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण ढल्केबर सबस्टेसनका प्रमुख सूर्यनारायण मण्डलले मधेश प्रदेश सौर्य ऊर्जा र विद्युत् उत्पादनका लागि उर्वर भूमि भएको उल्लेख गर्दै विज्ञान र आधुनिक प्रविधिको विकाससँगै जलस्रोतबाहेकका वैकल्पिक ऊर्जाका स्रोतमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।