काठमाडौं, असोज १९ गते । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भिभिआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताउनुभएको छ । शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भिभिआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रीपरिषदमा पुगेको जानकारी दिनुभएको हो । कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको बताउनुभयो । उहाँले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआईपीको भ्रमण गर्ने कुरा कार्यविधिमा व्यवस्थापन गरिएको बताउनुभयो ।
‘‘भिभिआईपी सवारीको प्रसङ्ग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौँ । हाम्रा भिभिआईपीहरुको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई विस्तारै मिनिमाइज गर्दै लगिएको छ । त्यसलाई बिस्तारै सुधार गर्दै लगिएको छ । अहिले पछिल्लो चरणमा भिभिआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रीपरिषद्मा पुगेको छ ।,’’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो, ‘‘त्यसमा यो सवारी भन्ने शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको छ । अतिविशिष्ठ र विशिष्ट व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआईपीको भ्रमण गर्नेगरी कार्यविधिमा व्यवस्थापन गरिएको छ । बिस्तारै त्यो लागू भएको पछिल्लो चरणमा सम्माननीय राष्ट्रपतिज्यूको भ्रमणबाट प्रमाणित हुन्छ ।’’
प्रमुख जिल्ला अधिकारी बस्नेतले यातायातमा निजी क्षेत्रको मात्रै होडले गर्दा सरकारले सवारीसानधनमा नियन्त्रण गर्नसक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले सार्वजनिक यातायातले रिजर्बमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारी साधन सञ्चालन गर्नुपर्ने जानकारी दिनुभयो ।