• १३ मंसिर २०८१, बिहिबार

रैथाने बालीको परिकार प्रदर्शनी

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज १९ गते । हुम्लामा उत्पादन हुने रैथाने बालीको जिल्लास्तरीय परिकारको प्रदर्शनी गरिएको छ । पहिलो अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारी रैथाने बाली संरक्षण र प्रवर्धनका लागि परिकारको प्रदर्शनी गरिएको हो । 

कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले जिल्लामा उत्पादन हुने रैथाने बालीको परिकारको एकदिने प्रदर्शनी गरिएको बताउनुभयो । स्थानीयले रैथाने बालीका अन्न लगाउन कम भएका बेला यसको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि परिकारको प्रदर्शनी गरिएको हो । रैथाने बाली चिनो, फापर, कोदो, कागुनोको परिकार तयार पारी प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । 

हुम्लामा उत्पादन हुने रैथाने बालीका परिकारहरू सहरका ठुला होटलमा महँगोमा बिक्री हुने तर जिल्लामा यसको उपभोग गर्ने मानिस घटेका कारण उत्पादन बढाउन पनि यो प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । 

प्रदर्शनीमा चिनोको यिर्बानी, फापरको पकौडा, कागुनोको सेलरोटी, कागुनोको खिर, कोदोको पुवा, फापरको रोटी (लकड), फापरको पकौडा र कोदोको केक राखिएको थियो । प्रदर्शनीमा राखिएका परिकार चाख्दै कर्णाली प्रदेश सरकारका कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले यति मिठो परिकार तयार हुने रैथाने बालीको उत्पादन घट्नु सकारात्मक पक्ष नभएको बताउनुभयो । उहाँले यी रैथाने बालीको उत्पादन वृद्धि गर्न र यसको बजारको सुनिश्चित गर्न प्रदेश सरकारले ठोस कार्यक्रम ल्याउने बताउनुभयो । कर्णालीमा उत्पादन हुने रैथाने बालीलाई नेपाली बजारसम्म पु¥याउन सके किसानहरू यसको उत्पादन वृद्धिमा लाग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यो प्रदर्शनीका लागि सिमकोट, खार्पुनाथ, नाम्खा, कृषि विकास कार्यालय ग्रेप परियोजनाले तीन लाख लगानी गरेका थिए । अघिल्लो आर्थिक वर्ष सिमकोट गाउँपालिकाले एक सय क्विन्टल रैथाने बालीका अन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्न काठमाडौँ निर्यात गरेको थियो । यस वर्ष पनि सिमकोट, सर्केगार्ड र अदानचुली गाउँपालिकाले ती रैथाने बाली लिमिटेडलाई बिक्रीका लागि सम्झौता गरिसकेका छन् ।