• १५ मंसिर २०८१, शनिबार

वराहक्षेत्रको गुरुयोजनामा सङ्घीय सरकारको बजेट

blog

वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्र मन्दिर, औलिया बाबा मठ र सूर्यकुण्डको गुरु योजना तयार । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, असोज १८ गते ।
 वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्र मन्दिर, औलिया बाबा मठ र सूर्यकुण्डको गुरु योजना तयार गरेको छ । नगरपालिकाले वडा नम्बर १ मा रहेका धार्मिक, पौराणिक तथा पर्यटकीय महत्त्व बोकेका क्षेत्रको गुरु योजना तयार गरेको हो ।

नगरपालिकाले तयार गरेको गुरु योजनाको सम्पादनबारे बुधबार सरोकारवाला पक्षसँग छलफल गरेको छ । नगर प्रमुख रमेश कार्की,  उपप्रमुख नन्दकुमारी सुनुवार, वडा नम्बर १ का वडा अध्यक्ष किसन मगर, वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ र पदाधिकारी, औलिया मठ तथा छिन्नमस्ता संरक्षण समितिका अध्यक्ष प्रकाश राउतसहित पदाधिकारीहरूको उपस्थितिमा छलफल भएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । 

सङ्घीय सरकारले वराहक्षेत्र–१ मा रहेको वराहक्षेत्र मन्दिरको पूर्वाधार विकासका लागि एक करोड बजेट विनियोजन गरेको छ । चतरामा रहेको औलिया मठको पूर्वाधार विकासको लागिसमेत एक करोड बजेट विनियोजन भएको नगरपालिकाले जनाएको छ । बहुवर्षे योजनामा रहेको औलिया मठको पूर्वाधार विकास र पौराणिक महत्त्वको संरक्षण गर्न सङ्घीय सरकारबाट बजेट विनियोजन भएको हो ।

वराहक्षेत्र मन्दिरमा बस पार्क, भौतिक संरचना निर्माण र मन्दिर क्षेत्रमा भएको कटानका लागि उक्त बजेट खर्च हुने नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरक्षेत्रमा रहेका धार्मिक, पौराणिक र पर्यटकीय क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनको कार्यमा लागेका छौँ । हामीले हाम्रो क्षेत्रमा रहेको धार्मिक, पौराणिक र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवर्द्धन गरे नगर क्षेत्रको दिगो आर्थिक उपार्जनको स्रोतसमेत बन्न सक्छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने सम्पदा बोकेका क्षेत्रको विकासमा गुरु योजना बनाएरै कामलाई अगाडि बढाइएको छ ।”

वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले छलफलमा गुरुयोजनालाई टेकेर काम गर्न सके वराहक्षेत्र नगरलाई समुन्नत बनाउन धार्मिक तथा पौराणिक संरचना महत्त्वपूर्ण हुने बताउनुभयो । सरोकारवालाहरूले छलफलका क्रममा नगरले स्थलगत अध्ययनपश्चात् बनाएको गुरुयोजना कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

औलिया मठ तथा छिन्नमस्ता संरक्षण समितिका अध्यक्ष प्रकाश राउतले नगरक्षेत्रमा रहेको धार्मिक महत्त्व बोकेको वराहक्षेत्र मन्दिर, औलिया बाबा मठ, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र सूर्यकुण्डको भौतिक विकास, ऐतिहासिक पक्षको संरक्षण, जीर्णोद्धार, प्रवर्द्धन गर्दै लानेमा सबै सरोकारवालाहरूको साथ सहयोग आवश्यक पर्ने बताउनुभयो ।

नेपालका धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको तीर्थ स्थलमध्ये वराहक्षेत्र धाम पनि एक हो ।  धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको मन्दिरमा नेपाल, भारत, भुटान, बंलादेशलगायत विश्वका विभिन्न मुलुकबाट धार्मिक पर्यटकहरू आउने गरेका छन् ।

वि.सं. १८२१ मा तत्कालीन समयदेखि नै सरकारले श्री औलिया गद्दी (मठ)को संरक्षण गर्दै आएको छ । दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठको आफ्नै पुरातात्त्विक महत्त्व रहेको छ ।