• २६ वैशाख २०८१, बुधबार

म्याराथनमा राजन १४औँ र पुष्पा १६औँ स्थानमा

blog

एसियाड म्यारथनमा प्रतिस्पर्धा गर्दै पुष्प भण्डारी ।

हाङझाउ, असोज १८ गते । एसियाड अन्तर्गत एथलेटिक्सको म्याराथनमा नेपालका पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारीको प्रतिस्पर्धा सम्पन्न भएको छ ।

बिहीबार पुरुषतर्फ राजन समग्रमा १४औँ स्थानमा रहनुभयो । उहाँले निर्धारित दूरी पूरा गर्न दुई घण्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चिनुभयो । म्याराथनमा पुरुषतर्फ १८ खेलाडी सहभागिता रहेको थियो ।

जसमा साउदी अरबीया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् । चीनका जी हेले दुई घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जित्नुभयो ।

यस्तै महिलामा नेपालकी पुष्पाले निर्धारित दूरी तीन घण्टा ०२ मिनेट ३७ सेकेन्डमा पूरा गर्नुभयो । १७ खेलाडी सहभागी महिला म्याराथनमा पुष्पाले १६औँ स्थानमा रहनुभयो । बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सक्नुभएन ।

बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले दुई घण्टा २६ मिनेट १४ सेकेन्डमा दौड सक्दै स्वर्ण जित्नुभयो । एसियाडमा म्याराथनको स्पर्धासँगै एथलेटिक्समा नेपालको चुनौती सकिएको छ ।