• २२ वैशाख २०८१, शनिबार

जलकुम्भी झारबाट कम्पोष्ट मल

blog

मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउँदै किसान । तस्बिर :बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, असोज १६ गते ।
 जैविक खेती प्रणालीलाई सहयोग पुर्‍याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका किसानलाई जैविक खेती गर्न उत्प्रेरित गराउन मल बनाउन सुरु गरिएको कोशी टप्पु सिकाई थलो (लर्निङ्ग ग्राउण्ड्सका) अध्यक्ष राजुमार सिंहले जानकारी दिनुभयो ।

आरक्षको मध्यवर्ती क्षेत्रमा जीविकोपार्जन, संरक्षण र शिक्षामा काम गर्दै आएको संस्थाले मध्यवर्तीको सिमसार क्षेत्रलाई संरक्षण गर्न जलकुम्भी हटाउने अभियान चलाएको छ । सिमसारसँग जोडिएका मध्यवर्ती क्षेत्रका स्थानीय कृषकहरूलाई कम्पोष्ट मल बनाउने सिप सिकाएर जलकुम्भी झारलाई नियन्त्रण गर्न सुरु गरिएको अध्यक्ष सिंहले बताउनुभयो ।

सुनसरीको कोशी गाउँपालिका– ३ मा जलकुम्भी झारलाई सङ्कलन र कटीङ्ग गरेर कम्पोष्ट मल बनाउन सुरु गरिएको छ । कोशी टप्पु मध्यवर्ती क्षेत्रका ताल र सिमसार क्षेत्रहरूमा अहिले ढकमक्क जलकुम्भी छ । झारले गर्दा मध्यवर्ती क्षेत्रका सिम क्षेत्रहरू भरिभराउ छन् ।

तराईका सिमसार क्षेत्रहरूमा ठुलो समस्याका रूपमा देखा परेको मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरेसँगै  जलकुम्भी झारको समेत नियन्त्र हुने भएको छ । कोशी टप्पु लर्निङ्ग ग्राउण्ड्सको आर्थिक सहयोगमा मल बनाउन सुरु गरिएको अध्यक्ष राजुमार सिंहले बताउनुभयो ।

उहाँले भन्नु भयो “मध्यवर्ती क्षेत्रको सिमसार क्षेत्र नै ढाकेर रहेको झारलाई नियन्त्रण गर्न कम्पोष्ट मल बनाएर खेत बारीमा हाल्ने वातावरण बनाउन र जैविक खेतीमा टेवा पुग्ने भएकाले कम्पोष्ट मल बनाउन थालेका छौ ।”

मिचाहा झारको व्यवस्थापन गर्न कम्पोष्ट मलले ठुलो भूमिका खेल्ने भएकाले मल बनाउने प्रयासलाई अघि सारिएको छ । मिचाहा प्रजातिको प्रकोप बढिरहेको अवस्थामा जलकुम्भी झारहरूबाट मल बनाउने कामलाई निरन्तरता दिन सकियो भने मिचाहा झारहरूको व्यवस्थापनमा सहयोग पुग्ने स्थानीय नेचर गाइड अनीश तिम्सिनाले बताउनुभयो ।

केहो हो जलकुम्भी

जलकुम्भी पानीमा हुर्कने वनस्पति हो । यो पानीमा छिटो सर्ने र फैलने गर्छ । तराईमा वर्षायामसँगै यो झार नदी, तलाउ, जलाशय, खोल्सा र सिमक्षेत्रहरुमा मौलाएर आउने गर्छ । यो झार जरा, काण्डा, पातबाट पनि सर्ने गर्छ ।

तराईका सिम क्षेत्र र जङ्गलहरूमा जलकुम्भी, सेतो वनमरा र लहरे वनमाराहरुले रैथाने वनस्पतिहरूलाई बढ्न हुर्कन दिइँदैनन् । मिचाहा झारहरू छिटो बढ्ने र जरा, काण्ड, पात बाटै सर्ने क्षमता हुने भएकाले यी प्रजातिका झारहरू जुन सुकै ठाउँमा पनि छिटो फैलन्छ । यस्ता झारहरू बाट मल बनाउन सके बाली बिरुवाहरू फस्टाएर जाने कृषि प्राविधिक निर बहादुर राई बताउनु हुन्छ ।