• १५ कात्तिक २०८१, बिहिबार

गोरखा नगरपालिका र गोरखा अस्पताल प्रदेशकै उत्कृष्ट

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज १६ गते । गोरखा नगरपालिका र गोरखा अस्पताल सेवा प्रवाहमा गण्डकी प्रदेशमा उत्कृष्ट भएका छन् । सोमबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा ८५ वटा पालिकामध्ये गोरखा नगरपालिकाले ७७ दशमलव ७ अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर बाबु रेग्मीले बताउनुभयो । 

दोस्रो भएको म्याग्दीको बेनी नगरपालिकाले ७५ दशमलव १  र तेस्रो भएको मध्य नेपाल नगरपालिकाले ७२ दशमलव २ अङ्क प्राप्त गरेका छन् । त्यस्तै गरी प्रदेशभरका १२ अस्पताल मध्ये गोरखा अस्पताल कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । गोरखा अस्पतालले ६४ प्रतिशत अङ्क प्राप्त गरेको छ भने दोस्रो भएको मध्य बिन्दु अस्पतालले ६१ प्रतिशत र तेस्रो भएको धौलागिरि अस्पतालले ५४ दशमलव २ प्रतिशत अङ्क प्राप्त गरेको छ । 

गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयले पालिकाहरूले गरेको स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनको गरिएको मन्त्रालयको स्वास्थ्य तालिम केन्द्रका प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो । 

जसमा सुरक्षित मातृत्व, खोप, परिवार नियोजन र महामारी नियन्त्रण लगायतका कार्यक्रमलाई विभिन्न सूचक आधारमा मूल्याङ्कन गरिएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर बाबु रेग्मीले बताउनुभयो । 

उत्कृष्ट भएका पालिका र कार्यालयहरूलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा, स्वास्थ्य सचिव विनोद शर्माले पुरस्कृत गर्नु भएको हो ।