• ७ चैत २०८२, शनिबार

गुल्मीबाट एसइई दिने विद्यार्थी घटे

blog

शिक्षा विकास तथा समन्वय इकाई गुल्मी। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, चैत ७ गते।
गुल्मीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या घटेको छ। गतवर्षको तुलनामा यसवर्ष ४०५ जना परीक्षार्थी कम भएका छन्। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने एसइईका लागि यस जिल्लाबाट १५१ विद्यालयका चार हजार ४५२ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ।

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार विभिन्न २६ वटा परीक्षा केन्द्रमा सो सङ्ख्यामा परीक्षार्थी सहभागी हुने भएका छन्। नियमित साधारणतर्फ तीन हजार ३४२, प्राविधिकतर्फ २५८ र ग्रेड वृद्धितर्फ ८५१ जना परिक्षार्थी सहभागी हुने भएका छन्। २०८१ को एसइईमा यस जिल्लाबाट १३८ विद्यालयबाट चार हजार ८५७ परीक्षार्थी सहभागी भएका थिए।

जसमा २६ परीक्षा केन्द्रमा साधारणतर्फ तीन हजार ५२६, प्राविधिकतर्फ २६० र ग्रेडवृद्धितर्फ एक हजार ६५ जना परीक्षार्थी सहभागी थिए। २०८० को एसइईमा सहभागी परीक्षार्थीहरुको तुलनामा गतवर्ष ७६० जना परिक्षार्थी बढी थिए। २०८० को एसइईमा यहाँका १३८ विद्यालयका चार हजार ९७ जना परीक्षार्थी विभिन्न २८ वटा परीक्षा केन्द्रमा सहभागी थिए।

जसमा नियमित साधारणतर्फ तीन हजार ७७७, प्राविधिक तर्फ २९५, नियमित खुलातर्फ १३ र ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी थिए। विगतका वर्षमा यस जिल्लाबाट एसइईमा सहभागी परीक्षार्थीहरु घटेको शिक्षा विकास तथा समन्वय इकाई को तथ्याङ्कमा उल्लेख छ। २०७९ को एसइईमा यहाँका १४० विद्यालयका चार हजार ७२२ र २०७८ को एसइईमा चार हजार ८२३ जना परीक्षार्थी सहभागी रहेको तथ्याङ्कमा उल्लेख छ।

यहाँको जन्मदर कम हुनु र बसाइँ–सराइले एसइईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या घटेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानश्वर घिमिरेले बताउनुभयो। परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईले परीक्षाका लागि आवश्यक व्यवस्थापन गर्ने तयारी गरेको बताइएको छ।