• ४ जेठ २०८१, शुक्रबार

साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला

blog

काठमाडौं, असोज १५ गते । मुठ्ठीदानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ । वातावरणीय न्यायको सशक्त माध्यमका रूपमा साइकल संस्कृति स्वीकार गरेर विश्व साइकल दिवस घोषणासहित संयुक्त राष्ट्रसंघले दिगो विकासको लक्ष्य तय गरेको छ । यस वर्षको विश्व पर्यटन दिवस ‘ग्रीन इन्भेस्टमेन्ट’ शीर्षकमा केन्द्रित थियो । यसै सन्दर्भमा ‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत ‘चित्रकलामा साइकल संस्कृति’ विषयक कार्यशाला सम्पन्न गरेको हो ।

महिला साइक्लिष्टको नेतृत्वमाबाट साइकल राइड नेपाल पर्यटन बोर्डमा पुगेर कार्यशालाको समुद्घाटन सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त साइक्लिष्ट अजय पण्डित क्षेत्री, उषा खनाल र सुरज रानालाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई साइकल खेलकुदमार्फत चिनाएकोमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, सागिनी उपाध्याय र के.के.कर्माचार्यले खाँदा ओढाएर सम्मान गरेको थियो । यसैगरी, महिला साइक्लिष्ट सिकाइका अगुवा लक्ष्मी श्रेष्ठ र उर्मिला शाक्यलाई महिला साइक्लिट समुदाय बढाउन योगदान गरेकोमा वरिष्ठ कलाकारबाट सम्मान गरिएको थियो ।


प्राध्यापक अभि सुवेदीको सम्भाषणसहित क्यानभासमा स्थापित साइक्लिष्टको संलग्नतामा वरिष्ठतम कलाकार तथा सहभागीले संयुक्त रूपमा चित्रकला कार्यशालाको समुद्घाटन गरेको थियो । सम्मानित साइक्लिष्टसहित पूर्वकूलपतिहरु तथा प्राध्यापक सुवेदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर क्यानभासमा सबैले रङ्गहरू भर्दै सामूहिक चित्राकृति बनाएर समुद्घाटन सम्पन्न गरेको थियो । 

नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा खुला चित्रकला कार्यशाला साँझसम्म जारी रहको थियो । एक जना कलाकारले दुईवटा क्यानभाषमा चित्रकृति तयार पार्ने उद्देश्यले कार्यशालाबाट करिब ५० देखि ७० वटा चित्रकृति तयार गरिने लक्ष्य आयोजकले लिइएको थियो । कार्यशालामा ३३ जना कलाकार सहभागी थिए । वरिष्ठ चित्रकार शशिविक्रम शाहले घरबाटै चित्रकृति बनाई कार्यशालामा पठाउनुभएको थियो । वरिष्ठतम कलाकारहरूले चित्राकृति घरमै बसेर पनि पूरा गर्ने काम भइरहेको छ । सबै कलाकृति जम्मा गरेर क्याटलग प्रकाशनसहित नेपाल कला परिषद्मा प्रदर्शनी गरिने लक्ष्य आयोजकको छ ।  


सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रमा मासभेला तथा अन्तरक्रियासहित सातवटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियान अघि बढाउने आयोजक संस्थाले लक्ष्य लिएको छ । यस कार्यबाट साइकल संस्कृति अभियानलाई कलात्मक किसिमले बौद्धिक जगसँग जोड्ने प्रयास भएको अतिथिहरूले बताए । वरिष्ठ कलाकार, साहित्यकार तथा अभियन्ताहरूले आगामी दिनमा पनि यस किसिमका कलात्मक अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।