अमृतप्रसाद पौडेल
म्याग्दी, पुस ७ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका कृषकहरूले यस वर्ष मात्रै झण्डै डेढ करोड रुपियाँ मूल्य बराबरको सुन्तला बिक्री गर्ने भएको छ । व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षण बढ्दै जाँदा एउटै टोल बास्कुनाबाट मात्रै यस्तो उल्लेखनीय आर्थिक कारोबार हुने गरेको हो ।
बास्कुनामा सुन्तला खेती गर्ने अधिकांश कृषकले सुन्तला बिक्रीका लागि ठेकेदारसँग सम्झौता गरी सकेको हुँदा झण्डै डेढ करोड मूल्य बराबरको सुन्तला बिक्री हुने देखिएको हो ।
बास्कुनाका स्थानीय कृषक शेरबहादुर केसीले १० लाख २१ हजार, नरबहादुर खत्रीले ११ लाख, सन्दिप खत्रीले २२ लाख, तीलक खत्रीले १३ लाख मुल्य बराबरको सुन्तला विक्री गर्नु हुने भएको हो ।
यसैगरी, मनबहादुर केसीले ११ लाख ५० हजार, भीम थापाले ६ लाख, हर्कबहादुर काउचाले दुई लाख ५० हजार, दिलमति श्रीषले नौ लाख ५० हजार, टेकबहादुर खत्रीले नौ लाख ५० हजारमा आफ्नो बगानको सुन्तला बिक्री गर्नु भएको छ ।
त्यस्तै देउबहादुर हुमेनले २१ लाख, तीलक गुरुङले १३ लाख, भीम गुरुङले १० लाख, रुपा गुरुङले पाँच लाखमा सुन्तला बिक्री गरेको बेनी नगरपालिका ४ का वडा सदस्य तथा सुन्तला कृषक सन्दीप खत्रीले जानकारी दिनुभयो ।
बास्कुना क्षेत्रको सुन्तला मुख्यतः धादिङका ठेकदारहरु कान्छा तामाङ नेतृत्वको व्यापारी समूहले खरिद गर्ने गरेको छ । त्यस्तै अर्का ठेकेदार राज तामाङको समूहले पनि यहाँबाट सुन्तला खरिद गरेर बजार पु¥याउने गरेको छ । सुन्तला ठेक्कामार्फत बिक्री गरिने भएकाले किसानले बोटमै मूल्य पाउने गरेका छन् ।
ठेकेदार आएर सुन्तला हेरेपछि त्यसको मुल्य निर्धारण गरेर ठेक्कामा लिने वा तौल गरेर प्रतिकिलोका दरले हिसाब गरेर खरिद गर्ने राज तामाङको भनाइ छ । उहाँका अनुसार आफ्नो समूहले मात्रै गत वर्ष बेनी नगरपालिका ४ बास्कुना र बेनी नगरपालिका ३ मरेक क्षेत्रबाट गरी एक करोड भन्दा बढी मूल्यको सुन्तला खरिद गरेर बजारमा बिक्री गरीएको थियो । यस वर्ष पनि एक देखि डेढ करोडको सुन्तला खरिद गरेर लैजाने योजना रहेको उहाँले सुनाउनुभयो ।
बेनी नगरपालिका–४ का वडा सदस्यसमेत रहनु भएका कृषक खत्रीका अनुसार गत वर्ष बास्कुना क्षेत्रबाट करिब एक करोड ३० लाख रुपियाँ बराबरको सुन्तला बिक्री भएको थियो । “यस वर्ष सुन्तला टिप्ने काम जारी छ, पुस महिनाभित्र सबै सुन्तला बजार पठाइसक्ने तयारी छ,” उहाँले बताउनुभयो ।
स्थानीय कृषक नरबहादुर खत्रीले आफ्नो बगारमा रहेका तीन सय बोटमा फलेको सुन्तला ११ लाख रुपियाँमा ठेक्का दिएको जानकारी दिनुभयो । “सुन्तला व्यापारीले आफैं टिपेर लैजान्छन्, किसानलाई उत्पादन सङ्कलनको झन्झट छैन,” उहाँले भन्नुभयो ।
सुन्तला व्यापारी राज तामाङका अनुसार एक गाडी सुन्तला काठमाडौँसम्म पु¥याउँदा ८० हजार हाराहारी अन्य खर्च हुन्छ । सुन्तला बोटमै ६० रुपियाँ किलोमा खरिद गर्न पाएको खण्डमा मात्रै बजार पुग्दा सम्म अलकिति नाफा निस्कने हो होइन भने घाटा हुनछ । उहाँका अनुसार एक गाडी सुन्तला बोटबाट टिप्नका लागि मजदुर खर्च ३० हजार, गाडी भाडा करिब २५ हजार रुपियाँ र स्टोर खर्च गर्दा ८० हजारसम्म खर्च हुन्छ । “सुन्तला बोटबाट टिपेर बजारसम्म पुर्याउँदा अन्य विविध खर्चसमेत जोड्दा प्रतिगाडी करिब ७० देखि ८० हजार रुपियाँ खर्च लाग्छ तर कृषक वा अन्यले खर्चको हिसाब नबुझ्ने हुँदा सुन्तला खरिदकर्ताहरु कतिपय अवस्थामा मर्कामा पर्ने गर्दछन्,” उहाँले बताउनुभयो ।
व्यवसायिक सुन्तला खेतीले बास्कुनाका कृषकको आम्दानी बढाएको छ भने गाउँमै उल्लेखनीय आर्थिक चलायमानता सिर्जना गरेको स्थानीय शेरबहादुर केसीको भनाइ छ ।